नक्कली सर्टिफिकेटले सहायक निरीक्षक हुँदै अनुसन्धान अधिकृत, अहिले अख्तियारको फन्दामा

२५ भाद्र २०८३, बिहीबार ०९:३५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुर प्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश तथा बढुवा भएको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

अख्तियारका अनुसार केसीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेशअन्तर्गतको बोर्ड अफ हाई स्कुल एन्ड इन्टरमिडिएट एजुकेसनबाट जारी भएको हाईस्कुल तहको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेका थिए।

उक्त प्रमाणपत्रका आधारमा उनले तत्कालीन समयमा राष्ट्रिय अनुसन्धान विभागमा सहायक निरीक्षक पदमा नियुक्ति लिएको र पछि सोही प्रमाणपत्र पटक–पटक बढुवा तथा पदोन्नतिका लागि पेस गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ।

आयोगका अनुसार केसी सोही प्रमाणपत्रका आधारमा २०६६ सालमा वरिष्ठ अनुसन्धान सहायक, २०७३ सालमा अनुसन्धान अधिकृत र २०८१ सालमा प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा नियुक्ति तथा बढुवा भएको कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको आयोगले जनाएको छ।

आयोगले केसीलाई साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवानाको सजाय माग गर्दै बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*