करेन्ट लागेर घाइते कर्मचारीलाई प्राधिकरणले दियो साढे १९ लाख

२५ भाद्र २०८३, बिहीबार १०:२५

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते भएका कर्मचारीलाई १९ लाख ७८ हजार ३०१ रुपैयाँ क्षतिपूर्ति तथा उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बुधबार बेलुका बसेको बैठकले कार्यक्षेत्रमा काम गर्ने क्रममा घाइते भएका कर्मचारीलाई विद्युत् क्षतिपूर्ति विनियमावलीअनुसार क्षतिपूर्ति र उपचार खर्च उपलब्ध गराउने निर्णय गरेको हो ।

मेलम्ची वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत मेलम्ची नगरपालिका–१०, आम्बोटेमा कार्यरत खोटाङका २५ वर्षीय सन्देश मगर भनिने शेरबहादुर मगर २०८२ चैत ११ गते १५ केभी प्रसारण लाइनको डिस्क पिन बदली गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए ।

विद्युत् दुर्घटनामा घाइते भएका मगरलाई उपचारका लागि सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उनको उपचारमा ९ लाख ७८ हजार ३०१ रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।

विनियमावलीअनुसार मगरलाई १० लाख रुपैयाँ क्षतिपूर्ति र उपचारमा लागेको ९ लाख ७८ हजार ३०१ रुपैयाँ गरी कुल १९ लाख ७८ हजार ३०१ रुपैयाँ उपलब्ध गराउने निर्णय भएको हो ।

मगरले यसअघि नै १० लाख रुपैयाँ पेश्की लिइसकेका छन् । अब बाँकी ९ लाख ७८ हजार ३०१ रुपैयाँ सम्बन्धित वितरण केन्द्रमार्फत घाइते मगरलाई उपलब्ध गराउन सञ्चालक समितिले स्वीकृति दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*