ग्यास अभावविरुद्ध आरआर क्याम्पसअगाडि दाउरा बालेर खाना पकाउँदै विद्यार्थी

२५ भाद्र २०८३, बिहीबार ११:२३

काठमाडौँ । काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभाव चर्किँदै गएपछि विद्यार्थीहरूले त्यसको विरोधमा नयाँ शैलीको आन्दोलन थालेका छन् । ग्यासको सहज आपूर्ति गर्न सरकारलाई दबाब दिने उद्देश्यले अखिल क्रान्तिकारीले रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको मुख्य प्रवेशद्वार अगाडि दाउरामा खाना पकाएर विरोध प्रदर्शन गरेको हो ।

ग्यास नपाएर सर्वसाधारणले दैनिक जीवनमै सास्ती खेप्नुपरेको भन्दै विद्यार्थीहरूले सडकमा नै दाउरा बालेर खाना पकाएका थिए । उनीहरूले ग्यासको अभावले विशेषगरी विद्यार्थी, मजदुर तथा न्यून आय भएका परिवार बढी प्रभावित भएको बताएका छन् ।

विद्यार्थीहरूले सरकारले लामो समयदेखि सर्वसाधारणलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन नसकेको  बताएका छन् । ग्यास लिनका लागि हप्तौँसम्म लाइनमा बस्नुपर्ने अवस्था सिर्जना हुँदा पनि आवश्यक मात्रामा ग्यास नपाउने समस्या समाधान हुन नसकेको उनीहरूको भनाइ छ ।

ग्यास सकिएपछि खाना पकाउनसमेत समस्या भएको र कतिपय अवस्थामा भोकै बस्नुपर्ने अवस्था आएको भन्दै विद्यार्थीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । उनीहरूले बजारमा ग्यासको नियमित र सहज आपूर्ति सुनिश्चित गर्न तथा अभावको स्थायी समाधान खोज्न सरकारसँग माग गरेका छन् ।

विरोध प्रदर्शनका क्रममा विद्यार्थीहरूले सडकमा दाउरामा खाना पकाएर आफूहरूले मात्र नभई खाना खान इच्छुक सर्वसाधारणलाई समेत खाना खुवाएका थिए । ग्यासको अभावले सिर्जना गरेको जनजीवनको समस्यालाई प्रत्यक्ष रूपमा देखाउन सडकमा खाना पकाउने कार्यक्रम गरिएको अखिल क्रान्तिकारीले जनाएको छ ।

ग्यास अभावको समस्या तत्काल समाधान नभए आन्दोलनलाई थप सशक्त बनाउँदै चरणबद्ध रूपमा अघि बढाउने विद्यार्थीहरूले चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*