‘ब्यवसायीको पाता फर्काउने’ धम्कीपछि ग्यास उद्योगीको जवाफ: ‘बिना प्रमाण दोष नलगाऊ’

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले उद्योगीप्रति उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले दिएको ‘व्यवसायीको पाता फर्काउने’ अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। संघले प्राकृतिक विपत्तिका बेला ग्यासको आपूर्ति सहज बनाउन उद्योगीहरू अहोरात्र खटिरहेको अवस्थामा मन्त्रीबाट आएको यस्तो अभिव्यक्ति गैरलोकतान्त्रिक, गैरजिम्मेवार, अमर्यादित तथा अशोभनीय भएको जनाएको हो।
संघले नेपालमा एलपी ग्यासको कारोबार गर्ने उद्योगहरूले पाँच दशकभन्दा लामो समयदेखि निरन्तर सेवा दिँदै आएको र देशका विभिन्न कालखण्डमा आइपरेका विपत्ति तथा महाविपत्तिमा समेत उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउन आफ्नो सम्पूर्ण स्रोतसाधन परिचालन गर्दै आएको स्पष्ट पारेको छ।
संघीय संसद्को प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बुधबार मन्त्रीले एलपी ग्यास उद्योगीप्रति दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको संघले जनाएको छ। प्राकृतिक विपत्तिका समयमा ग्यास आपूर्ति तथा बिक्री वितरणलाई सहज बनाउन उद्योगीहरू आफ्नो सामर्थ्यले भ्याएसम्म इमानदारीपूर्वक खटिरहेको अवस्थामा अभिभावकीय तथा नेतृत्वदायी भूमिकामा रहेको मन्त्रीबाटै यस्तो अभिव्यक्ति आउनु खेदजनक रहेको संघको भनाइ छ।
संघले ग्यास अभावको सम्पूर्ण दोष उद्योगीमाथि थोपरेर सरकार पानीमाथिको ओभानो बन्न खोज्न नहुने बताएको छ। वर्तमान समस्या समाधानका लागि सबै पक्षले निर्मम र वस्तुनिष्ठ समीक्षा गर्नुपर्ने भन्दै संघले आधा सिलिन्डर अर्थात् ७.१ किलो ग्यासको व्यवस्था १५ दिनका लागि भन्दै चार महिनासम्म निरन्तरता दिइएको विषयलाई समेत अभावको कारणका रूपमा औँल्याएको छ।
संघका अनुसार उसले गत चैत १६ गते नै नेपाल आयल निगममा पत्र पठाएर पूर्ण सिलिन्डरमा फर्किन अनुरोध गरेको थियो। त्यसपछि पनि आजको अवस्थाको आकलन गरी निर्णय परिमार्जन गर्न सरोकारवाला निकायसँग निरन्तर आग्रह र अनुनयविनय गरिए पनि त्यसलाई बेवास्ता गरिएको संघको दाबी छ।
ग्यासको आयातमा आवश्यक तदारुकता नदेखाइनु, पूर्ण सिलिन्डर लागू भएपछि सिलिन्डरको माग अचानक बढ्नु तथा पृथ्वी राजमार्गमा भएको अवरोधका कारण ग्यास बुलेटको ढुवानी प्रभावित हुनुजस्ता विषयलाई पनि अहिले देखिएको ग्यास अभावको विश्लेषण गर्दा गम्भीरतापूर्वक लिनुपर्ने संघले जनाएको छ।
कुनै उद्योगले बदनियतपूर्वक कृत्रिम अभाव सिर्जना गरेको प्रमाणित भए सम्बन्धित पक्षमाथि कानुनबमोजिम कारबाही हुनुपर्नेमा संघ सधैँ सम्बन्धित निकायसँगै रहेको पनि विज्ञप्तिमा उल्लेख छ। तर, बिना प्रमाण ग्यास उद्योगीलाई दोषी देखाउँदै भौतिक कारबाहीको संकेत दिने अभिव्यक्ति अत्यन्त आपत्तिजनक भएको संघले जनाएको छ।
संघले कठिन परिस्थितिमा आफ्नो सम्पूर्ण ध्यान उपभोक्ताले अत्यावश्यक वस्तुका रूपमा रहेको एलपी ग्यास सरल र सहज रूपमा प्राप्त गर्न सकून् भन्नेमा केन्द्रित रहेको जनाएको छ। विगतमा जस्तै सम्बन्धित सरोकारवाला निकायसँग सहकार्य गर्न तथा नेपाल सरकारका व्यवहारिक निर्देशन पालना गर्न संघ सदैव प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ।









