सम्पत्ति शुद्धीकरण रोक्न बीमकमाथि कडाइ, सबै विवरण वेबसाइटमा अद्यावधिक गर्न निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार सबै इजाजतपत्र प्राप्त बीमकलाई आफ्नो संस्थासँग सम्बन्धित महत्वपूर्ण विवरण वेबसाइटमार्फत सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्न निर्देशन दिएको छ।
प्राधिकरणको सम्पत्ति शुद्धीकरण निवारण शाखाले पुस २४ गते सबै बीमकलाई विवरण अद्यावधिक गर्न अनुरोध गरेको हो। सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ३५ग बमोजिम बीमकले आफ्ना संस्थागत तथा नियामकीय विवरण सार्वजनिक रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था कार्यान्वयनका लागि प्राधिकरणले यस्तो आग्रह गरेको जनाएको छ।
प्राधिकरणका अनुसार बीमकले आफ्नो केन्द्रीय कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा कार्यालय रहेको स्पष्ट ठेगानासहित सम्बन्धित कार्यालय प्रमुखको विवरण वेबसाइटमा अद्यावधिक गर्नुपर्नेछ। साथै, बीमकको दर्ता मिति र इजाजतपत्र नम्बरसमेत सार्वजनिक गर्नुपर्नेछ।
त्यसैगरी, बीमकको कानुनी स्वरूप र कार्यक्षेत्र स्पष्ट हुने गरी संक्षिप्त परिचय सार्वजनिक गर्न प्राधिकरणले भनेको छ। बीमकलाई नियमन गर्ने निकाय तथा नियमनसम्बन्धी कानुनी व्यवस्थाबारे समेत जानकारी उपलब्ध गराउनुपर्नेछ। यसअन्तर्गत बीमा ऐन, बीमा नियमावली तथा नेपाल बीमा प्राधिकरणबाट जारी गरिएका सम्पूर्ण निर्देशन र मार्गदर्शनलाई समेत समेट्नुपर्ने प्राधिकरणले जनाएको छ।
बीमकले आफ्नो सञ्चालक समितिका सदस्यहरूको नाम तथा नामेसी विवरण पनि वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ। त्यस्तै, बीमकअन्तर्गत रहेका अन्य समितिका पदाधिकारीहरूको परिचय खुल्ने विवरणसमेत अद्यावधिक गर्नुपर्ने प्राधिकरणको निर्देशन छ। अन्य कुनै कानूनले सार्वजनिक गर्नुपर्ने भनी तोकेका विवरणहरू भए ती विवरणसमेत वेबसाइटमा सार्वजनिक रूपमा उपलब्ध हुने गरी अद्यावधिक गर्नुपर्नेछ।









