बीमा प्राधिकरण गण्डकी प्रदेशद्वारा प्रदेशस्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुँदै

२५ भाद्र २०८३, बिहीबार १७:०७

काठमाडौँ ।  नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय पोखराले बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश स्तरीय बीमा हाजिरी जवाफ प्रतियोगिता–२०८३ आयोजना गर्ने भएको छ ।

प्राधिकरणको वार्षिक स्वीकृत कार्यक्रमअनुसार आयोजना हुन लागेको प्रतियोगितामा गण्डकी प्रदेशभित्रका १०+२ तहमा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउनेछन् । एउटा विद्यालयबाट एउटा मात्र समूह सहभागी हुन पाउने व्यवस्था गरिएको छ । प्रत्येक समूहमा विद्यालयले मनोनयन गरेका तीन जना विद्यार्थी रहनेछन् ।

प्रतियोगितामा सहभागी हुन विद्यालयले समूहका तीन जना विद्यार्थीको नाम, समूह नेतृत्वकर्ताको नाम तथा विद्यार्थी परिचय खुल्ने कागजातसहित विद्यालयको पत्रमार्फत आवेदन दिनुपर्नेछ । आवेदन सूचना प्रकाशित भएको मितिले ४५ दिनभित्र, अर्थात् २०८३ कात्तिक ९ गते बेलुकी ५ बजेसम्म नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयको इमेलमार्फत पठाउनुपर्नेछ ।

यसअघि नेपाल बीमा प्राधिकरण, गण्डकी प्रदेश कार्यालयले आयोजना गरेको हाजिरी जवाफ प्रतियोगितामा सहभागी भई विजेता भएका विद्यार्थी भने यस प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

प्रतियोगितामा नेपाल बीमा प्राधिकरणको सामान्य जानकारी, बीमा व्यवसायअन्तर्गत जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा लघुबीमा, बीमासम्बन्धी कानुनी व्यवस्था, बीमा र अर्थतन्त्र तथा बीमाका अन्तर्राष्ट्रिय अभ्यासलगायत विषयवस्तु समेटिने प्राधिकरणले जनाएको छ । प्रतियोगिताको नियम प्रचलित मान्यताअनुसार हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहलाई प्रमाणपत्रसहित करसहित नगद २० हजार रुपैयाँ, द्वितीय हुनेलाई १५ हजार रुपैयाँ र तृतीय हुनेलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*