आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने

काठमाडौं । देशका अधिकांश भूभागमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही स्थानमा भारी वर्षा हुनुका साथै हिमाली क्षेत्रमा हिमपात र तराईका केही स्थानमा हावाहुरी चल्ने सम्भावना रहेको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।
राति मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार राति बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ।










