गुडिरहेको विद्युतीय कारमा आगलागी, एकजनाको जलेर मृत्यु

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–९ बसन्तचोक गोन्द्राङमा गुडिरहेको विद्युतीय कारमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ। आगलागीबाट कार पूर्णरूपमा जलेर क्षतिग्रस्त भएको छ भने कारभित्र फेला परेको शवको पहिचान खुल्न सकेको छैन।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शुक्रबार बिहान करिब ६ बजे बा.प्र.०१–०३० च ५५७९ नम्बरको विद्युतीय कारमा अचानक आगलागी भएको हो। पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गतको सर्भिस लेनमा गुडिरहेको अवस्थामा कारमा आगो लागेको प्रहरीले जनाएको छ।

आगलागीको सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो। दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएपछि कारभित्र एकजना व्यक्ति जलेर मृत अवस्थामा फेला परेका थिए।
शरीर पूर्णरूपमा जलेका कारण मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा मृतक कारका चालक हुनसक्ने अनुमान गरिएको भए पनि त्यसको पुष्टि भइसकेको छैन।











