बालेन र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

काठमाडौं । बालेन्द्र शाह (बालेन) र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा बालेनले रसुवाको भोटेकोशीमा आएको बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यहरू तीव्र पारिएको बताएका छन्। साथै उनले बेपत्ता सबै नागरिकहरूको खोजी कार्यलाई पनि प्राथमिकतामा राखिएको बताए।
बालेनले न्यूजिल्याण्डले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता पनि व्यक्त गरेका छन्।
बालेनले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगको लागि अनुरोध समेत गरेका छन्।
सो क्रममा न्युजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट समवेदना र ऐक्यबद्धता व्यक्त गरेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।









