मध्यपूर्वमा तनाव चर्किँदा तेलको प्रतिब्यारेल मूल्य सय डलरमाथि

२६ भाद्र २०८३, शुक्रबार ११:०२

काठमाडौं । मध्यपूर्वमा पुनः द्वन्द्व चर्किने सम्भावना बढेसँगै विश्वव्यापी तेल आपूर्तिमा अवरोध हुन सक्ने चिन्ताका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल सय अमेरिकी डलरभन्दा माथि पुगेको छ । जुलाईपछि पहिलोपटक तेलको मूल्य सय डलर नाघेको हो ।

अमेरिका र इरानबीच पछिल्लो समय बढेको सैन्य तनावपछि कच्चा तेलको अन्तर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य तीन प्रतिशतले बढेर प्रतिब्यारेल १००.८ डलरभन्दा माथि पुगेको छ । खाडी क्षेत्रमा द्वन्द्व फैलिन सक्ने आशंकाले तेल आपूर्तिमा थप दबाब पर्ने अनुमान गरिएको छ ।

तेहरानले अमेरिकी नौसेनाको युद्धपोतलाई लक्षित गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गर्ने प्रयास गरेपछि अमेरिकी सेनाले केही इरानी तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ । यसैबीच, इरान समर्थित हुथी विद्रोहीले साउदी अरेबियाका चार सहरमा आक्रमण गर्दा ७० भन्दा बढी व्यक्ति घाइते भएका छन् । हुथीले प्रहार गरेको क्षेप्यास्त्रका कारण केही साउदी तेल संयन्त्रमा समेत आगलागी भएको बताइएको छ ।

छ महिनादेखि जारी युद्धको स्थायी समाधानको सम्भावना कमजोर बन्दै जाँदा र पुनः सैन्य गतिविधि बढेपछि अगस्टको सुरुवातयता तेलको मूल्य करिब एकचौथाइले बढिसकेको छ । सन् २०२६ मा मात्रै कच्चा तेलको मूल्य तीनपटक प्रतिब्यारेल सय डलरभन्दा माथि पुगेको छ ।

विश्वकै ठूलो कच्चा तेल आयातकर्ता चीनले रणनीतिक भण्डारमा रहेको तेल प्रयोग गरेपछि त्यसलाई पुनः भर्न खरिद बढाएको छ । चीनले अगस्टमा प्रतिदिन करिब ९० लाख ब्यारेल कच्चा तेल आयात गरेको थियो । यद्यपि, फेब्रुअरीमा युद्ध सुरु हुनुअघि चीनले प्रतिदिन १ करोड २६ लाख ब्यारेल कच्चा तेल आयात गर्दै आएको तुलनामा पछिल्लो आयात अझै कम हो ।

मध्यपूर्वमा जारी द्वन्द्वका क्रममा कच्चा तेलको मूल्य अप्रिलमा सबैभन्दा उच्च प्रतिब्यारेल १२६ डलरसम्म पुगेको थियो । त्यसपछि युद्धविरामको सम्भावना बढेसँगै मूल्य क्रमशः घटेको थियो । तर अमेरिका र इरानबीच भएको समझदारी टुटेपछि पुनः शत्रुता बढेसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि उकालो लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*