फाइनान्स कम्पनीमा गाभ्ने–प्राप्तिको शृङ्खला, कुन संस्था कोसँग गाभिए?

काठमाडौँ । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सार्वजनिक गरेको वित्तीय संस्था गाभ्ने तथा प्राप्ति सम्बन्धी विवरणअनुसार नेपालमा विभिन्न वित्तीय संस्थाबीच गाभिने तथा प्राप्ति हुने क्रम लामो समयदेखि जारी रहेको देखिएको छ। विवरणमा वर्ग ‘ग’ का वित्तीय संस्थाहरूको गाभ्ने तथा प्राप्ति प्रक्रियादेखि त्यसपछि कायम भएको संस्थाको नामसम्म उल्लेख गरिएको हो ।
विवरणअनुसार नेपाल फाइनान्स लिमिटेडले ललितपुर फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो। २०७८ साल असार २७ गते संयुक्त कारोबार सुरु भएपछि प्राप्तिपछि पनि संस्थाको नाम नेपाल फाइनान्स लिमिटेड नै कायम गरिएको छ।
त्यसअघि रिलायन्स फाइनान्स लिमिटेड र लोटस इन्भेस्टमेन्ट फाइनान्स लिमिटेडबीच गाभिने प्रक्रिया पूरा भएको थियो। २०७१ साल वैशाख २५ गतेदेखि संयुक्त कारोबार सुरु भएसँगै गाभिएर बनेको संस्थाको नाम रिलायन्स लोटस फाइनान्स लिमिटेड कायम गरिएको विवरणमा उल्लेख छ।
गोरखा विकास बैंक लिमिटेड र काठमाडौँ फाइनान्स लिमिटेड पनि गाभिएका वित्तीय संस्थाको सूचीमा छन्। विकास बैंकतर्फ वर्ग ‘ख’ मा रहेको गोरखा विकास बैंक र वर्ग ‘ग’ को काठमाडौँ फाइनान्सबीच २०७२ साल पुस २८ गतेदेखि संयुक्त कारोबार सुरु भएको थियो। गाभिएपछि संस्थाको नाम गुर्खाज फाइनान्स लिमिटेड कायम भएको छ।

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड र एभरेस्ट फाइनान्स कम्पनी लिमिटेडबीच पनि गाभिने प्रक्रिया सम्पन्न भएको थियो। २०७३ साल असोज १९ गतेदेखि संयुक्त कारोबार सुरु भएको उक्त संस्थाको नाम श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनी लिमिटेड नै कायम गरिएको छ।
त्यस्तै, सेन्ट्रल फाइनान्स लिमिटेड र भक्तपुर फाइनान्स लिमिटेडबीच २०७३ साल पुस १० गते गाभिने प्रक्रिया पूरा भएको थियो। संयुक्त कारोबारपछि बनेको संस्थाले सेन्ट्रल फाइनान्स लिमिटेडकै नामलाई निरन्तरता दिएको छ।
विवरणमा बेस्ट फाइनान्स लिमिटेडसँग सम्बन्धित गाभिने प्रक्रियालाई पनि समेटिएको छ। बुटवल फाइनान्स लिमिटेड, अल्पिक एभरेस्ट फाइनान्स लिमिटेड, सिएमबी फाइनान्स लिमिटेड र बेस्ट फाइनान्स कम्पनी लिमिटेडबीच गाभिने प्रक्रिया २०६९ साल भदौ २१ गतेदेखि प्रभावकारी भएको उल्लेख छ। त्यसपछि बनेको संस्थाको नाम सिनेर्जी फाइनान्स लिमिटेड कायम भएको थियो। विवरणको पछिल्लो अभिलेखमा बेस्ट फाइनान्स कम्पनी लिमिटेडको नामसमेत छुट्टै उल्लेख गरिएको छ।
सबैभन्दा पछिल्लो घटनाका रूपमा पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स लिमिटेडबीच गाभिने प्रक्रिया देखिन्छ। २०८३ साल चैत २६ गतेदेखि संयुक्त कारोबार सुरु हुने गरी यी दुई संस्था गाभिएका छन् र गाभिएपछि संस्थाको नाम पोखरा फाइनान्स लिमिटेड नै कायम गरिएको छ।









