विकास बैंकहरूमा मर्जरको लहर, कोसँग को गाभिए?

२६ भाद्र २०८३, शुक्रबार १२:१८

काठमाडौं । हाल सञ्चालनमा रहेका नौं वटा विकास बैंक विगतमा विभिन्न संस्थासँग मर्जर तथा प्राप्ति गरेर हालको स्वरुपमा आएका हुन् । मर्जर र प्राप्तिले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउँदै पुँजीगत आधार र व्यावसायिक क्षमता विस्तारमा सहयोग गरेको देखिन्छ ।

कामना विकास बैंक र सेवा विकास बैंकबीच २०७४ साउन २० गते मर्जर भएपछि कामना सेवा विकास बैंकका रूपमा एकीकृत कारोबार सुरु भएको थियो । यसअघि कास्की फाइनान्स पनि यस बैंकमा समाहित भएको थियो । लुम्बिनी विकास बैंक पनि विभिन्न वित्तीय संस्थाको एकीकरणबाट बनेको हो । भिवोर सोसाइटी डेभलपमेन्ट बैंक र लुम्बिनी फाइनान्स एन्ड लिजिङ कम्पनीबीचको एकीकरणपछि २०७४ असार २५ गतेदेखि लुम्बिनी विकास बैंकका नाममा कारोबार सुरु भएको थियो । यस प्रक्रियामा भिवोर विकास बैंक, हिमचुली र वीरगन्ज फाइनान्सलगायतका संस्था पनि विभिन्न चरणमा गाभिएका थिए ।

त्यस्तै यती डेभलपमेन्ट बैंक र महालक्ष्मी विकास बैंकबीच २०७४ असार १८ गते मर्जर भएपछि महालक्ष्मी विकास बैंकको गठन भएको हो । यसअघि सिद्धार्थ फाइनान्स, भ्याली फाइनान्स र मकालु विकास बैंकलगायतका संस्थासमेत यसको एकीकरण प्रक्रियामा जोडिएका थिए । ज्योति विकास बैंकले पनि विभिन्न संस्थालाई गाभ्दै आफ्नो व्यावसायिक क्षेत्र विस्तार गरेको छ । झिमरुक र राप्तीभेरी विकास बैंकसँग मर्जर गरेको ज्योति विकास बैंकले २०७५ चैत १५ गते हाम्रो विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार अघि बढाएको थियो ।

गरिमा विकास बैंकले नीलगिरी र सुभेच्छा विकास बैंकलाई मर्जर गरेको थियो । त्यसपछि २०७८ कात्तिक २८ गते साहारा विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालन गर्दै आएको छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक पनि मर्जर तथा प्राप्तिको प्रक्रियाबाट विस्तार भएको अर्को विकास बैंक हो । रेसुङ्गा र गौमुखी विकास बैंकसँग मर्जरपछि २०७३ जेठ २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको यस बैंकले पछि पूर्णिमा र भार्गव विकास बैंकलाई प्राप्ति गरेको थियो । २०७६ असोज २७ गतेदेखि ती संस्थासमेत एकीकृत भएर कारोबारमा आएका थिए ।

त्यसैगरी सप्तकोशी डेभलपमेन्ट बैंकले काबेली र माउन्ट मकालु विकास बैंकलाई गाभेर २०७६ असार २२ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो । मुक्तिनाथ विकास बैंकले २०७२ असार ३० गते सिभिक डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको थियो । साङ्ग्रिला डेभलपमेन्ट बैंक पनि मर्जर र प्राप्तिको प्रक्रियाबाट विस्तार भएको हो । साङ्ग्रिला र बागेश्वरी विकास बैंकबीच २०७१ असार २९ गते मर्जर भएको थियो भने २०७४ असार ३० गते कस्मोस विकास बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार अघि बढाइएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*