नक्कली सुन देखाएर १ करोड ३९ लाख ठगी गर्ने फरार कैदी पक्राउ

काठमाडौँ । काठमाडौंमा सुनजस्तो देखिने पहेँलो धातु देखाएर पटक–पटक गरी एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–१ घर भई काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएका २८ वर्षीय अनिष थापा मगर रहेका छन्। उनलाई काठमाडौंको टोखा नगरपालिका–९, मिलन टोलस्थित एक गेष्ट हाउसबाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबु नयाँ बसपार्कबाट खटिएको प्रहरी टोलीले थापा मगरलाई नक्कली सुनजस्तो देखिने पहेँलो धातु ८५६ ग्रामसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनले उक्त धातुलाई सुन भन्दै देखाएर विभिन्न व्यक्तिबाट पटक–पटक गरी १ करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका थापा मगरविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार थापा मगर जबरजस्ती करणी कसुरसम्बन्धी मुद्दामा कैदीसमेत रहेका थिए। उनी २०८२ भदौ २४ गते नख्खु कारागारबाट भागेको समेत अनुसन्धानका क्रममा खुलेको छ।










