आज राष्ट्रिय बालअधिकार दिवस मनाइँदै

काठमाडौं । नेपालले बालअधिकारसम्बन्धी महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको छ।
यस वर्ष ‘बालापनको रक्षा ः भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ राष्ट्रिय बालअधिकार दिवस मनाइँदैछ। बालबालिकाको सुरक्षित र सम्मानपूर्वक बाँच्न, विकास गर्न, शिक्षा तथा स्वास्थ्य प्राप्त गर्न, आफ्ना विचार अभिव्यक्त गर्न र हिंसा तथा शोषणबाट मुक्त हुन पाउने जस्ता बालबालिकाको मौलिक हक संविधानमै सुनिश्चित गरिएको छ।
यीनै बाल अधिकार एवं मौलिक हकको प्रचलनका लागि अभिभावक, नागरिक समाज, राज्य तथा सरोकारवाला सबैलाई थप जिम्मेवार र जवाफदेही बनाउने उद्देश्यले प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै आएको हो।
यस वर्ष भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीका कारण रसुवा, धादिङ, नुवाकोट लगायत जिल्लामा कैयौं बालबालिकाले आफ्ना अभिभावक, संरक्षक गुमाएका साथै घाइते तथा बेपत्ता भएकाको उद्धार, राहत, संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ।










