बीवाईडी एटो ३ मा ब्रेक नलाग्दा र स्टेयरिङ लक हुँदा भयानक दुर्घटना, यही ब्रान्डमा बारम्बार समस्या किन?

दिपक विष्ट
१ आश्विन २०८३, बिहीबार १५:४५

काठमाडौं । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद प्रकाश पाठक झापाबाट काठमाडौंतर्फको यात्रामा थिए । साथमा झापाका दुई सांसदसहित चार जना थिए । यात्रा सहज रूपमा अघि बढिरहेको थियो । तर सिन्धुलीको कमलामाई नगरपालिकास्थित भीमानतर्फ आइपुग्दा केही सेकेन्डमै यात्रा भयावह दुर्घटनामा परिणत भयो ।

गाडी थियो– बीवाईडी एटो ३

सवारी चालक लक्ष्मण पोखरेलले अचानक ब्रेक नलागेको र स्टेयरिङ लक भएको भन्दै कराए । समस्या देखिएको करिब पाँच सेकेन्डमै गाडी नियन्त्रणबाहिर पुग्यो । सडकको डिभाइडरमा ठोक्किँदै गाडी एउटा घरको किनारमा पुगेर रोकियो । गाडी गम्भीर दुर्घटनामा पर्दा गाडीमा रहेका कुनै पनि सुरक्षा प्रणालीले काम गरेनन् । न एयर ब्याक निस्कियो न अन्य प्रणाली नै सक्रिय भए । यो गुनासो सांसद पाठकले आफ्नो समाजिक सञ्जाल फेसबुक मार्फत भिडियोसहित साझा गरेका छन् ।

बीवाईडीका गाडीसम्बन्धी विवाद वा गुनासो सार्वजनिक भएको यो पहिलो घटना भने होइन । यसअघि समेत बिवाईडी ब्रान्डका सवारी साधनको कमजोरीको कारण बेला बेलामा आगलागी वा दुर्घटनामा पर्ने गरेका छन् ।

यसअघि पूर्वउपसभामुख इन्दिरा राना मगरले आफूले प्रयोग गरेको सरकारी बीवाईडी एटो ३ बारे गम्भीर असन्तुष्टि व्यक्त गरेकी थिइन् । सरकारी सवारी बुझाउने क्रममा उनले बीवाईडीको स्क्रिन स्पष्ट नदेखिने र त्यसका कारण पटक–पटक जोखिमपूर्ण अवस्था आएको दाबी गरेकी थिइन् । उनले बीवाईडीको स्क्रिनकै कारण आफू दुर्घटनाको नजिक पुगेको बताएकी थिइन् ।

२०८३ को जेठमा समेत मोरङको पथरी क्षेत्रमा पार्किङमा राखिएको बिवाईडी एटो ३ मा अचानक आगलागी भएर खरानी बनेको थियो । झापाको दमकबाट जन्ती लिएर करिब १८ किलोमिटर यात्रा तय गर्दै मोरङ पत्थरीमा आएको गाडी पार्किङमा राखेको बेला गत मे ७ मा आगलागीका कारण क्षतिग्रस्त बनेको हो ।

२०८३ को जेठमा नै नेपाल भित्र्याएर शोरुमतर्फ लैजाँदै गरिएको बीवाईडीको नयाँ विद्युतीय (ईभी) गाडी बीच सडकमै पड्किएको थियो । भन्सार पास गरेर भर्खरै सडकमा गुडिरहेको बिवाईडीको ‘अट्टो २’ बाराको सिमरा सडकमै पड्किएर क्षतिग्रस्त बनेको हो ।

यी केही पछिल्ला उदारहण मात्रै हुन् । पछिल्लो समय नेपाली अटो बजारमा बिवाईडीका विभिन्न मोडलमा बेला बेला प्राविधिक समस्या देखिने गरेको गुनासो बढ्दै गएको छ । कम्पनीको गुणस्तरमाथि नै गम्भीर प्रश्न उठ्ने गरी बिवाईडीका सवारी साधनमा आगलागी तथा दुर्घटनाका शिकार हुने गरेको पाइन्छ ।

नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक हो । कम्पनीले सन् २०१७ आसपासदेखि नेपाली बजारमा बीवाईडीका विद्युतीय गाडी बिक्री शुरु गरेको थियो । शुरुवाती चरणमा बीवाईडीलाई किफायती र आधुनिक प्रविधियुक्त विद्युतीय गाडीका रूपमा प्रस्तुत गरिएको थियो । तर पछिल्लो समय सामाजिक सञ्जाल र बजारमा कम्पनीको गुणस्तर तथा बिक्रीपछिको सेवामाथि आलोचना बढ्दै गएको देखिन्छ । केही उपभोक्ताले स्पेयर पाट्र्स, प्राविधिक सेवा र लामो समयपछि देखिने समस्याबारे गुनासो गर्ने गरेका छन् ।

उत्पादनमा त्रुटि, ब्याट्रीमा समस्या, ब्रेकिङ सिस्टममा कमजोरी र सुरक्षा फिचरको कमीबीच बीवाईडी गाडीमा गुणस्तरको प्रश्न उठ्दै आइरहेको छ । विश्व बजारमा पनि विभिन्न बीवाईडीले समय–समयमा आफ्ना सवारीसाधन रिकल गर्ने गरेका उदाहरण छन् । सुरक्षासम्बन्धी समस्या, सफ्टवेयरमा त्रुटि वा प्राविधिक कमजोरीका कारण लाखौं गाडी फिर्ता बोलाइएका घटनाहरू सार्वजनिक हुने गरेका छन् ।

नेपाली बजारमा बिवाइडी एटो ३ एड्भान्स ५९ लाख ९९ हजार र एटो ३ सुपेरियर ६७ लाख ८० हजार रुपैयाँमा बिक्री वितरण भइरहेको छ ।

साइमेक्स इंकका एजीएम–आफ्टरसेल्स (सर्भिस तथा स्पेयर पाट्र्स प्रमुख) इन्जिनियर सुशिल तण्डुकारले सांसद चढेको बीवाईडी एटो ३ मा कुनै प्राविधिक समस्या नरहेको बताएका छन् । बीमापोष्टसँग कुरा गर्दै उनले दुर्घटनाको प्राविधिक परीक्षणपछि गाडीमा कुनै समस्या नदेखिएको दाबी गरे । उनले भने, ‘सिन्धुलीको भीमान आइपुग्दा सो दुर्घटना भएको रहेछ । गाडी ७५ कै स्पिडमा देखिएको छ । ब्रेक लगाएको देखिँदैन । हामीसँग ड्यासबोर्डको भिडियो पनि छ । स्टेरिङसमेत थिचिरहेको देखिन्छ । खाना खाएर निस्किनुभएको भन्नुभएको छ । हाम्रो अनुमानमा चालक निदाउँदा उक्त समस्या आएको देखिन्छ ।’

कम्पनी आफ्नो गाडीमा कुनै समस्या नरहेको कुरामा २०० प्रतिशत नै कन्फर्म रहेको उनको दाबी छ । ‘उहाँहरुले यो गाडीमा धेरै रिक्स रहेको बताउँदै अब नचलाउने भनिरहनुभएको भए पनि अहिले लगिसक्नुभएको छ । सिटबेल्ट लक नै देखिएको छ । मान्छेलाई केही भएको छैन । कसैलाई केही चोटपटकसमेत लागेको छैन । अहिले गाडी पुनः बनाएर हामीले टेस्ट ड्राइभसमेत गरिसकेको अवस्था छ’ तण्डुकारले भने, ‘उहाँहरूले यो गाडी धेरै जोखिमपूर्ण भएको र नचढ्ने मत राख्दै आउनुभएको थियो । अलि छुटको कुरा पनि गरिरहनुभएको थियो तर हामीले गाडी अहिले एकदम ठीक रहेको बताएपछि अहिले गाडी लगिसकेको अवस्था छ । हामी २०० प्रतिशत कन्फर्म छौं, गाडीमा कुनै समस्या थिएन ।’

हेर्नुहोस् सम्बन्धीत समाचार:-

उपसभामुखको अनुभवले बिवाईडी गाडीको गुणस्तरमाथि गम्भीर प्रश्न, भनिन् ‘झन्डै म मरिनँ’

पार्किङमै जलेर खरानी बन्यो बिवाईडी एटो ३, साइमेक्स इन्क भन्छ, ‘प्राविधिक कमजोरी भेटिएन’

भन्सार छुटाएर काठमाडौं ल्याउँदै गरेको अनटेष्ट बिवाईडी अटो २ सिमराको सडकमै पड्कियो

बिवाईडिद्वारा डल्फिन गाडीमा आगलागी समस्या रहेको स्वीकार, एक लाख गुणस्तरहीन सवारी फिर्ता गर्ने निर्णय

बिवाईडि गाडीको ड्यास बोर्ड कनेक्सन गर्ने वायर नेपालमा नपाइने समस्या, सामान्य तारको साढे २ लाख असुली

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*