आज दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची

५ आश्विन २०८३, सोमबार ०९:१२

काठमाडौं । संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज सोमबार बस्दैछ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे तथा राष्ट्रिय सभाको बैठक १ः१५ बजे बस्ने सम्भावित दैनिक कार्यसूची तय भएको छ।

प्रतिनिधि सभाको दोस्रो अधिवेशनअन्तर्गतको ५७औँ बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।

त्यसपछि महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै वालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। त्यसपछि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ।

उता राष्ट्रिय सभाको एक्काइसौँ अधिवेशनअन्तर्गतको ४८औँ बैठक सोमबार दिउँसो १ः१५ बजे बस्नेछ। बैठकको सुरुवातमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने कार्यसूची छ।

त्यसपछि मन्त्री चौधरीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्। छलफलपछि उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जनाएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*