पाल्पामा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु, पाँच घाइते

५ आश्विन २०८३, सोमबार ०८:५५

काठमाडौं । पाल्पाको तानसेन नगरपालिका–८ भालेबासस्थित सिद्धार्थ राजमार्गमा यात्रुवाहक गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बुटवलबाट तानसेनतर्फ जाँदै गरेको भे १ ज ९७६ नम्बरको फोर्स गाडी आफैं अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज, प्रभास, पाल्पा लगिएको थियो।

उपचारका क्रममा पूर्वखोला गाउँपालिका–४ की ६३ वर्षीया अनसरा खाम्चाको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते पाँचै जनाको अवस्था मध्यम रहेको बताइएको छ।

घाइते हुनेमा गाडी चालक पूर्वखोला गाउँपालिका–१ का करिब २९ वर्षीय नरबहादुर राना, सोही स्थानका ५० वर्षीय कृष्णबहादुर राजमगर, पूर्वखोला गाउँपालिका–४ घर भई हाल तानसेन नगरपालिका–४ भगवतीटोल बस्ने २८ वर्षीया मेनुका भन्ने मनकुमारी सारु, उनकी ७ वर्षीया छोरी साहिरस सारु र मृतक अनसरा खाम्चाकी ५ वर्षीया नातिनी सायरा खाम्चा रहेका छन्। दुर्घटनाको थप विवरण तथा घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*