आज तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर हाल मनसुनी वायुको साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। उत्तर अन्डमन सागर तथा आसपास विकसित न्यून चापीय क्षेत्र हाल मध्यपूर्व बङ्गालको खाडीमा रहेको र उक्त प्रणाली आगामी दिनमा थप बलियो हुँदै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने सम्भावना रहेको छ।
हाल कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश भूभागमा मौसम सफादेखि आंशिक बदली रहेको छ।
आज सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
त्यस्तै मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
सोमबार राति कोशी प्रदेशसहित देशका हिमाली भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग तथा बाँकी तराई क्षेत्रमा भने आंशिक बदली रहनेछ।
रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई भूभागका एक–दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।











