डोल्पामा ३० लाखको ठेक्का उल्ट्याएर १ करोड ४ लाखमा दिइयो, ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी राज्य कोषमा नोक्सानी पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आर्थिक वर्ष २०७८/७९ मा त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित हरियापानी–पालङ्ग–माझफाल हुँदै रुकुम जोड्ने मोटरबाटो निर्माणका लागि आह्वान गरिएको बोलपत्रमा बदनियतपूर्वक मिलेमतो गरी प्रतिस्पर्धालाई सीमित बनाइएको अख्तियारको अनुसन्धानबाट खुलेको जनाएको छ।
आयोगका अनुसार सार्वजनिक खरिद ऐनविपरीतका सर्तहरू राखेर सबैभन्दा कम ३० लाख ९९ हजार ८१८ रुपैयाँ कबोल गर्ने निर्माण व्यवसायीलाई प्रतिस्पर्धाबाट बाहिर पारिएको थियो। त्यसपछि सबैभन्दा बढी १ करोड ४ लाख ६१ हजार ७७२ रुपैयाँ कबोल गर्ने छल निर्माण सेवा प्रालिलाई ठेक्का स्वीकृत गरिएको थियो।
यसरी कानुनविपरीत ठेक्का दिँदा राज्य कोषलाई ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा नोक्सानी पुगेको अख्तियारको जिकिर छ।
उक्त अनियमिततामा संलग्न रहेको आरोपमा अख्तियारले त्रिपुरासुन्दरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद पोखरेल, तत्कालीन इन्जिनियर कर्णबहादुर कार्की, प्रशासकीय अधिकृत हिराचन्द्र धराला, वरिष्ठ लेखा सहायक रूपचन्द्र बुढा, शिक्षा अधिकृत भीमबहादुर थापा र एमआईएस अपरेटर हरिचन्द्र बिष्टलाई प्रतिवादी बनाएको छ।
त्यस्तै, बोलपत्र मूल्याङ्कन समितिका सदस्य शिशिरकुमार गुरुङ तथा गैरकानुनी लाभ लिएको आरोपमा छल निर्माण सेवा प्रालि र उक्त निर्माण सेवाका प्रोप्राइटर दिपचन्द्र रोकायाविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
गलत प्रतिवेदन तयार गरी राज्यको सम्पत्ति दुरुपयोग गरेको अभियोगमा अख्तियारले सबै प्रतिवादीबाट जनही ७३ लाख ६१ हजार ९५३ रुपैयाँ ५७ पैसा बिगो असुलउपर गर्न माग गरेको छ। साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम हदैसम्मको कैद र जरिवाना सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ।











