अब लाइसेन्स घरमै पुग्ने, तीन सरकारी निकायबीच त्रिपक्षीय सम्झौता

६ आश्विन २०८३, मंगलवार १६:०६

काठमाडौँ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को छपाइ तथा वितरण प्रक्रियालाई थप व्यवस्थित, छिटो र सहज बनाउने उद्देश्यले सरकारका तीन निकायबीच त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौतासँगै अब सेवाग्राहीले आफ्नो लाइसेन्स सम्बन्धित यातायात कार्यालयबाट मात्रै नभई आफूले चाहेको ठेगानामा, अर्थात् घरमै समेत प्राप्त गर्न सक्ने भएका छन्।

पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार मन्त्रालयमा यातायात व्यवस्था विभाग, हुलाक सेवा विभाग र सुरक्षण मुद्रण केन्द्रबीच त्रिपक्षीय सम्झौतामा हस्ताक्षर भएको जानकारी दिएका छन्।

सम्झौताअनुसार यातायात व्यवस्था विभागद्वारा सञ्चालनमा रहेको ‘विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (EDLVRS)’ मार्फत जारी हुने लाइसेन्सको डाटा सोझै सुरक्षण मुद्रण केन्द्रको प्रणालीमा पठाइनेछ। प्राप्त डाटाका आधारमा सुरक्षण मुद्रण केन्द्रले लाइसेन्स छपाइ गर्नेछ।

यस व्यवस्थाले विगतमा लाइसेन्स छपाइका क्रममा देखिँदै आएका प्राविधिक समस्या तथा डाटा आदानप्रदानमा लाग्ने समय घटाउने अपेक्षा गरिएको छ।

सुरक्षण मुद्रण केन्द्रमा छपाइ भएका लाइसेन्स हुलाक सेवा विभागमार्फत सम्बन्धित प्रदेश कार्यालयमा पठाइनेछ। त्यसपछि प्रदेश कार्यालयबाट सेवाग्राहीलाई लाइसेन्स वितरण गरिने व्यवस्था मिलाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*