आठ दिनसम्म चल्ने इन्द्रजात्रा सुरु, बसन्तपुरमा ठड्याइयो लिङ्गो

७ आश्विन २०८३, बुधबार ११:१०

काठमाडौं । काठमाडौंको वसन्तपुरमा परम्परागत विधिअनुसार लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व इन्द्रजात्रा औपचारिक रूपमा सुरु भएको छ । हनुमानढोका दरबार क्षेत्रमा धार्मिक तथा सांस्कृतिक विधिपूर्वक लिङ्गो ठड्याएर जात्राको शुभारम्भ गरिएको हो ।

इन्द्रजात्रा काठमाडौंको मौलिक संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएको महत्वपूर्ण पर्वका रूपमा मनाइँदै आएको छ । जात्राका क्रममा देवी–देवताका मूर्ति तथा रथयात्रा, लाखे नाच, पुलुकिसी नाचलगायतका परम्परागत जात्रा तथा सांस्कृतिक प्रदर्शन गरिन्छ ।

इन्द्रजात्राको मुख्य आकर्षणमध्ये जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा पनि हो । जात्राका विभिन्न दिनमा वसन्तपुर क्षेत्रबाट रथ निकालेर काठमाडौंका विभिन्न स्थानमा परिक्रमा गराउने परम्परा छ । रथयात्रा हेर्न तथा जात्रामा सहभागी हुन काठमाडौं उपत्यका र आसपासका क्षेत्रबाट ठूलो संख्यामा सर्वसाधारण वसन्तपुर पुग्ने गर्छन् ।

इन्द्रजात्रामा इन्द्र देवताको पूजा आराधना गर्नुका साथै दिवंगत आफन्तको सम्झनामा विभिन्न धार्मिक संस्कार गर्ने चलनसमेत रहेको छ । वर्षा र सहकालका देवताका रूपमा इन्द्रको पूजा गरिने चलन रहीआएको छ । भाद्र शुक्ल द्वादशीका दिन लिङ्गो ठड्याएर सुरु हुने इन्द्रजात्रा ८ दिनसम्म मनाइने गरिन्छ । आठौं दिनपछि अर्थात् आश्विन कृष्ण चोथीका दिन इन्द्रध्वज पातन अर्थात् इन्द्रध्वज लडाएपछि यो जात्रा समाप्त हुन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*