अब शेयर किनेर दिनभर कुर्नु नपर्ने, एउटै दिन खरिद–बिक्रीको बाटो खोल्दै सेबोन

८ आश्विन २०८३, बिहीबार १७:०६

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपालको शेयर बजारमा अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयनका लागि अवधारणा पत्र, २०८३ सार्वजनिक गरेको छ । हालसम्म मुख्यतः डेलिभरीमा आधारित रहेको नेपालको धितोपत्र बजारमा तरलता, मूल्य अन्वेषण तथा कारोबारको निरन्तरता अभिवृद्धि गर्ने उद्देश्यले एउटै कारोबार दिनभित्र खरिद–बिक्री गरी सोही दिन कारोबारको स्थिति राफसाफ वा समापन गर्ने प्रणाली लागू गर्ने अवधारणा बोर्डले अघि सारेको हो ।

नेपालको शेयर बजारमा लगानीकर्ताले धितोपत्र खरिद गरेपछि त्यसलाई निश्चित राफसाफ प्रक्रियामार्फत होल्ड गर्ने र बिक्री गर्नुपर्ने विद्यमान अभ्यासका कारण छोटो अवधिको कारोबारका लागि पर्याप्त अवसर सिर्जना हुन नसकेको भन्दै इन्ट्राडे ट्रेडिङको अवधारणा अघि सारिएको हो । बोर्डका अनुसार अन्तरदिवसीय कारोबार प्रणालीले बजारमा कारोबारको आवृत्ति तथा गहिराइ बढाउनुका साथै धितोपत्रको मूल्य निर्धारण प्रक्रियालाई थप प्रभावकारी बनाउन सहयोग गर्न सक्नेछ ।

प्रस्तावित प्रणालीअन्तर्गत प्रारम्भिक चरणमा ‘पहिले खरिद, पछि बिक्री’ मोडल मात्र लागू गरिनेछ । अर्थात् लगानीकर्ताले कारोबार दिनभित्र कुनै धितोपत्र खरिद गरेपछि सोही दिन मूल्य परिवर्तनका आधारमा बिक्री गरी कारोबार समापन गर्न सक्नेछन् । ‘पहिले बिक्री, पछि खरिद’ गर्ने अभ्यास अर्थात् आवरणयुक्त सर्ट सेलिङका साथै धितोपत्र सापटी तथा उधारोसम्बन्धी व्यवस्था भने तत्काल लागू नगर्ने प्रस्ताव गरिएको छ । यस्ता कारोबारका लागि आवश्यक कानुनी, प्राविधिक तथा संस्थागत पूर्वाधार पूर्ण रूपमा तयार भएपछि मात्रै त्यसबारे थप निर्णय गरिने अवधारणा पत्रमा उल्लेख छ ।

सेबोनले इन्ट्राडे कारोबारले बजारको तरलता बढाउने सम्भावना रहे पनि यसको प्रभाव सबै धितोपत्रमा समान नहुने जनाएको छ । विशेषगरी कम कारोबार हुने तथा कम तरलता भएका धितोपत्रमा छोटो अवधिको कारोबार बढ्दा मूल्यमा अस्वाभाविक उतारचढाव आउन सक्ने र लगानीकर्ताको जोखिमसमेत बढ्न सक्ने भएकाले प्रारम्भिक चरणमै सबै सूचीकृत कम्पनीका धितोपत्रमा इन्ट्राडे कारोबार खुला नगर्ने प्रस्ताव गरिएको छ ।

यसका लागि निश्चित मापदण्डका आधारमा ‘योग्य धितोपत्र’ छनोट गरिनेछ । धितोपत्रको कारोबारको मात्रा, तरलता, मूल्यको स्थिरता तथा बजारमा उपलब्ध अन्य सूचकका आधारमा योग्य धितोपत्रको सूची निर्धारण गर्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसले अत्यधिक उतारचढाव हुने वा कम तरलता भएका धितोपत्रमा प्रारम्भिक चरणमै हुने जोखिमलाई सीमित गर्ने अपेक्षा गरिएको छ ।

लगानीकर्ताको सुरक्षालाई समेत अवधारणा पत्रमा प्राथमिकतामा राखिएको छ । इन्ट्राडे कारोबार तुलनात्मक रूपमा छोटो अवधिमा मूल्य परिवर्तनबाट लाभ वा नोक्सानी हुन सक्ने प्रकृतिको कारोबार भएकाले लगानीकर्ताको जोखिम वहन क्षमता र कारोबारसम्बन्धी बुझाइका आधारमा योग्यता निर्धारण गर्ने प्रस्ताव गरिएको छ । त्यस्तै, कारोबारमा सहभागी हुनुअघि जोखिमसम्बन्धी जानकारी उपलब्ध गराउने तथा आवश्यक अभिमुखीकरणलाई अनिवार्य गर्ने व्यवस्था पनि प्रस्तावित छ ।

सेबोनले नेपालको बजारको आकार, संरचना र विद्यमान पूर्वाधारलाई ध्यानमा राख्दै छुट्टै नयाँ संस्था स्थापना गरेर इन्ट्राडे कारोबार सञ्चालन गर्नेभन्दा विद्यमान संस्थागत संरचनालाई प्रविधिमार्फत एकीकृत गर्ने ‘नेपाल इन्ट्राडे ट्रेडिङ मोडल’ प्रस्ताव गरेको छ । यस मोडलमा सेबोन, नेपाल स्टक एक्सचेन्ज (नेप्से), सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सिडीएससी), धितोपत्र व्यवसायी तथा बैंकिङ प्रणालीबीच आवश्यक सूचना र कारोबार प्रवाहलाई प्रविधिमार्फत जोडिने परिकल्पना गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*