म्याद गुज्रेका सामानबाट गुदपाक–पुष्टकारी, चन्द्रागिरिका दुई उद्योग शिलबन्दी

९ आश्विन २०८३, शुक्रबार १६:१२

काठमाडौं । म्याद नाघेका, किरा परेका तथा अखाद्य कच्चा पदार्थ प्रयोग गरी गुदपाक तथा पुष्टकारी उत्पादन गर्ने चन्द्रागिरिका दुई उद्योग शिलबन्दी गरिएको छ। अनुगमनका क्रममा लाखौँ रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा तयारी खाद्य सामग्री फेला परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ती सामग्री जफत गरी नष्ट गरेको हो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, डिभिजन कार्यालय काठमाडौं, चन्द्रागिरी नगरपालिका र प्रहरी प्रभाग नैकापको संयुक्त टोलीले असोज ६ गते चन्द्रागिरी–१५, ढुंगेअड्डामा गरेको अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डार र बज्रबाराही भण्डारमा गम्भीर खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कमजोरी फेला पारेको थियो।

अनुगमनका क्रममा श्री कृष्ण पुष्टकारी तथा गुदपाक भण्डारले म्याद नाघेका चिउरा, चकलेट, टुक्रा बिस्कुट, ओट्स, स्किम मिल्क पाउडर तथा किरा परेको भुटेको चना र त्यसको पिठो प्रयोग गरी गुदपाक र पुष्टकारी बनाउने गरेको पाइएको विभागले जनाएको छ।

म्याद नाघेका चकलेटमा नयाँ लेबल र मिति कोड लगाएर पुनः बिक्री गर्ने गरेकोसमेत अनुगमन टोलीले फेला पारेको थियो। अनुमतिपत्रसमेत नलिई सञ्चालनमा रहेको उक्त उद्योगबाट करिब २ लाख ६० हजार रुपैयाँ बराबरका अखाद्य कच्चा पदार्थ तथा १०० किलो गुदपाक र ५३५ किलो पुष्टकारी जफत गरी नष्ट गरिएको विभागले जनाएको छ।

उद्योगलाई तत्काल शिलबन्दी गरी थप अनुसन्धान अघि बढाइएको छ। विभागले उक्त उद्योगबाट उत्पादित स्पेशल पुष्टकारी, श्रीकृष्ण पुष्टकारी, स्पेसल चकलेट, श्रीकृष्ण गुदपाक, मत्थर पेडा पुष्टकारी र स्पेसल कोसेली पुष्टकारी उपभोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

त्यस्तै, ढुंगेअड्डाकै बज्रबाराही भण्डारमा पनि खाद्य स्वच्छताको अवस्था सन्तोषजनक नरहेको पाइएको छ। एउटै कोठामा खाद्य सामग्रीको प्रशोधन तथा प्याकेजिङ गर्ने र आवश्यक अनुमति नलिई खाद्य सामग्री उत्पादन गर्ने गरेको अनुगमन टोलीले जनाएको छ।

उक्त उद्योगबाट करिब १ लाख ४० हजार रुपैयाँ मूल्य बराबरको ३५० किलो तयारी अखाद्य सामग्री जफत गरी नष्ट गरिएको छ। उद्योगलाई समेत शिलबन्दी गरिएको विभागले जनाएको छ।

यसैबीच, काठमाडौं महानगरपालिका–१५, स्वयम्भूस्थित श्री सस्तो बास्केटमा नक्कली मिति कोड र लेबल प्रयोग गरी खाद्य वस्तु बिक्री भइरहेको उजुरीका आधारमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा म्याद नाघेका सुजी, ब्रेडक्रम्ब, थाइम, राजमा लगायतका खाद्य वस्तु फेला परेपछि जफत गरी नष्ट गरिएको विभागले जनाएको छ। विक्रेतालाई सात दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

स्वयम्भूकै यति आइस प्रालिले खाद्य पदार्थ उत्पादन तथा बिक्री–वितरणको अनुमति नलिई आइस क्युब उत्पादन गरिरहेकोसमेत पाइएको छ। साथै, प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका, २०७४ पालना नगरेको पाइएपछि उद्योगको सम्पूर्ण उत्पादन तथा बिक्री–वितरणमा रोक लगाइएको विभागले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*