हिम्लुङ हिमाल आधार शिविरमा ठूलो हिमपहिरो, १० जना सम्पर्कविहीन

११ आश्विन २०८३, आईतवार ११:१३

काठमाडौँ ।  पश्चिम नेपालको हिम्लुङ हिमाल आधार शिविरमा आज बिहान ठूलो हिमपहिरो गएको छ। लगातारको वर्षा र भारी हिमपातपछि गएको हिमपहिरोमा आधार शिविरमा राखिएका पालहरू पुरिएका छन् भने कम्तीमा १० जना सम्पर्कविहीन भएका छन्।

अभियान आयोजकहरूका अनुसार हिमपहिरोले आधार शिविरका पालहरू बगाएपछि हिमालयन होलिडेज नेपालका कम्तीमा आठ जना आरोही तथा सहयोगी कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। त्यस्तै, इम्याजिन नेपाल ट्रेक्सका दुई जना भान्से कर्मचारी पनि सम्पर्कविहीन रहेको बताइएको छ।

अभियान सञ्चालकहरूका अनुसार हिमपहिरोपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजीको प्रयास अघि बढाउने तयारी भइरहेको छ। लगातारको खराब मौसमका कारण उद्धार कार्यमा कठिनाइ हुन सक्ने बताइएको छ।

अभियान सञ्चालकहरूको संस्था एक्सपेडिसन अपरेटरस् एसोसिएसन नेपालका अनुसार हिम्लुङ हिमाल क्षेत्रमा रहेका अन्य कम्पनीका अधिकांश आरोही, सहयोगी तथा कर्मचारीहरू मौसममा आएको खराबीबारे पूर्वसूचना पाएपछि यसअघि नै सुरक्षित रूपमा तल्लो क्षेत्रमा झरिसकेका थिए।

हिमपहिरोमा परेकाहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ। खोजी तथा उद्धारका लागि सम्बन्धित निकाय र अभियान सञ्चालकहरूबीच समन्वय भइरहेको जनाइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*