निर्जीवन बीमा क्षेत्रमा उत्साहः गत वर्ष ३० लाखभन्दा बढी पोलिसी बिक्री, कुन कम्पनीको कति?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल ३० लाख १ हजार ८१४ वटा बीमा पोलिसी बिक्री गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/०८२ को असार मसान्तसम्म २७ लाख ५७ हजार ६७४ वटा पोलिसी बिक्री भएकोमा गत आवमा २ लाख ४४ हजार १४० वटा पोलिसी वृद्धि भएको छ ।
बीमा पोलिसी बिक्रीका आधारमा युनाइटेड अजोड इन्स्योरेन्स सबैभन्दा अगाडि रहन सफल भएको छ। यस कम्पनीले असार २०८३ सम्म ४ लाख १९ हजार ५२६ वटा पोलिसी बिक्री गर्दै अघिल्लो आवको तुलनामा १ लाख २० हजार २३७ वटा पोलिसीको ठूलो वृद्धि हासिल गरेको छ । दोस्रो स्थानमा रहेको हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ लाख ५५ हजार ५०९ वटा पोलिसी जारी गरेको छ जुन अघिल्लो आवको तुलनामा ७५ हजार ८१ ले बढी हो । त्यसैगरी शिखर इन्स्योरेन्सले ३ लाख ३६ हजार २ वटा पोलिसी बिक्री गरी तेस्रो स्थान ओगटेको छ भने चौथो स्थानमा रहेको नेको इन्स्योरेन्सले ३ लाख ५ हजार ९८३ वटा पोलिसी जारी गरेको छ ।

यस्तै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ७० हजार ६८५ वटा पोलिसी बिक्री गरेको छ । यद्यपि यो अघिल्लो आवको तुलनामा २८ हजार २९० ले घटेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ६९ हजार ९९८ वटा पोलिसी जारी गर्दै १ लाख १६ हजार २९४ को उल्लेखनीय वृद्धि हासिल गरेको छ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले २ लाख ३७ हजार ७०८ वटा, एनएलजी इन्स्योरेन्सले २ लाख २३ हजार ९११ वटा र नेपाल इन्स्योरेन्सले २ लाख २२ हजार ७४१ वटा पोलिसी बिक्री गरेका छन् ।
अन्य कम्पनीहरूमा सनिमा जीआईसी इन्स्योरेन्सले १ लाख ४३ हजार २८ वटा पोलिसी जारी गरेको छ । प्रभु इन्स्योरेन्सले १ लाख १४ हजार ६१३ वटा पोलिसी बिक्री गरेको छ भने ओरिएन्टल इन्स्योरेन्सले ४८ हजार ९४६ वटा पोलिसी जारी गरेको छ । त्यसैगरी राष्ट्रिय बीमा कम्पनीले ३२ हजार ३४३ वटा पोलिसी बिक्री गरेको छ भने सबैभन्दा कम पोलिसी बिक्री गर्नेमा नेशनल इन्स्योरेन्स रहेको छ जसले २० हजार ८२१ वटा पोलिसी जारी गरेको छ ।
यसरी समग्रमा १४ निर्जीवन बीमा कम्पनीहरूको पोलिसी बिक्री संख्या विश्लेषण गर्दा केही कम्पनीहरूको व्यवसायमा संकुचन आए तापनि युनाइटेड अजोड, सगरमाथा लुम्बिनी र हिमालयन एभरेष्ट जस्ता अग्रणी कम्पनीहरूको तीव्र वृद्धिका कारण निर्जीवन बीमा क्षेत्रको समग्र पोलिसी बिक्री संख्यामा सकारात्मक सुधार देखिएको छ । यसले निर्जीवन बीमा कम्पनीहरूको समग्र बीमा व्यवसाय अघिल्लो वर्षको तुलनामा बढ्दै गएको देखिन्छ ।










