पहिरोले रोक्यो ग्यास आपूर्ति, काठमाडौं आउँदै गरेका १०५ बुलेट बाटोमै रोकिए

काठमाडौँ । बाढीपहिरोका कारण पृथ्वी राजमार्गमा यातायात अवरुद्ध हुँदा काठमाडौं उपत्यकाका लागि खाना पकाउने ग्यास बोकेर आएका १०५ वटा बुलेट बीच बाटोमै रोकिएका छन्। नेपाल आयल निगमका अनुसार ती बुलेटमा करिब एक लाख ५० हजार सिलिन्डर बराबरको ग्यास रहेको छ।
बुधबारदेखि परेको वर्षाका कारण पृथ्वी राजमार्गको कृष्णभिरसहित दर्जनौँ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएपछि भारतबाट ग्यास बोकेर आएका बुलेट काठमाडौं आउन नसकेका हुन्। निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार भारतको बरौनी, पारादीप र हल्दियालगायत स्थानबाट ग्यास लोड गरी काठमाडौं आउँदै गरेका बुलेट चितवन र हेटौँडा आसपास रोकिएका छन्।
काठमाडौं उपत्यकामा रहेका १६ वटा ग्यास ब्रान्डका लागि लोड गरिएका ती बुलेट वीरगन्ज भन्सारबाट भने क्लियर भइसकेका छन्। निगमका अनुसार केही बुलेट चितवनको रामनगरमा र केही हेटौँडालगायत क्षेत्रमा रोकिएका छन्।
पृथ्वी राजमार्गमा यातायात सञ्चालन हुनासाथ रोकिएका ग्यास बुलेट काठमाडौं भित्रिने प्रवक्ता ठाकुरले बताए। बुलेट काठमाडौं आइपुगेपछि प्रतिदिन ५० हजारदेखि ६० हजार सिलिन्डरका दरले बजारमा ग्यास पठाउन सकिने निगमको भनाइ छ।










