बिवाईडी गाडी बिक्री बढ्दा पनि नाफा खुम्चिँदै, डिलर इको ड्राइभमा बढ्दो वित्तीय दबाब

१३ आश्विन २०८३, मंगलवार १३:०८

काठमाडौँ । बीवाईडीको आधिकारिक डिलर इको ड्राइभ अटोमोबाइल्स प्रालिको व्यापार पछिल्लो आर्थिक वर्षमा केही बढे पनि कम्पनीको नाफा कमाउने क्षमता भने निरन्तर कमजोर बन्दै गएको छ । बिक्री संख्या बढ्दा पनि आम्दानीको तुलनामा सञ्चालन नाफा झन् साँघुरिँदै गएपछि कम्पनीमाथि प्रतिस्पर्धा, मूल्य दबाब, महँगो कार्यशील पुँजी र बढ्दो वित्तीय जोखिमको चाप देखिएको हो ।

कम्पनीको सञ्चालन आम्दानी आर्थिक वर्ष २०८१/८२ मा ९७ करोड ४० लाख रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । एक वर्षमा कारोबार करिब ८ प्रतिशतले बढे पनि यो वृद्धि कम्पनीका लागि उत्साहजनक वित्तीय परिणाममा परिणत हुन सकेको छैन । अझ आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको सञ्चालन आम्दानी १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ रहेको थियो । त्यसको तुलनामा पछिल्ला दुई आर्थिक वर्षको कारोबार उल्लेख्य रूपमा कमजोर देखिन्छ ।

नेपालको अटोमोबाइल बजार विस्तार भइरहेको र विद्युतीय सवारीसाधनको माग बढिरहेको अवस्थामा समेत कम्पनीले आफ्नो कारोबारलाई अघिल्लो उच्च तहमा कायम राख्न सकेको छैन । पछिल्ला समय बिवाईडीका ब्रान्डमा भइरहेको आगलागी, दुर्घटना जस्ता कुराले समेत ग्राहकमा ब्रान्डप्रति नै शंका पैदा भइरहेको छ । सोहि शंकाको धक्का डिलरसम्म पुग्न थालेको देखिएको हो ।

आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले २६८ वटा सवारीसाधन बिक्री गरेको छ । अघिल्लो आर्थिक वर्षमा २२२ वटा सवारीसाधन बिक्री भएकामा एक वर्षमा बिक्री संख्या ४६ वटाले बढेको हो । बिक्री संख्यामा सुधार आए पनि त्यसको प्रत्यक्ष लाभ नाफामा देखिएको छैन । बरु कारोबार विस्तारसँगै कम्पनीको सञ्चालन नाफा मार्जिन लगातार खुम्चिएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अन्य समायोजनअघिको सञ्चालन नाफा मार्जिन ३.०३ प्रतिशत रहेको थियो । यो दर आर्थिक वर्ष २०८१/८२ मा घटेर १.७३ प्रतिशतमा झर्‍यो भने आर्थिक वर्ष २०८२/८३ मा अझै खुम्चिएर केवल ०.८० प्रतिशतमा सीमित भएको छ । अर्थात् दुई वर्षको अवधिमा सञ्चालन नाफा मार्जिन ३.०३ प्रतिशतबाट घटेर ०.८० प्रतिशतमा आइपुगेको छ ।

केयर रेटिङ्स नेपालका अनुसार विद्युतीय तथा परम्परागत दुवै सवारीसाधन बजारमा तीव्र प्रतिस्पर्धा र मूल्य प्रतिस्पर्धा बढ्नु कम्पनीको कमजोर नाफा मार्जिनको प्रमुख कारणमध्ये एक हो । नेपालमा पछिल्लो समय विभिन्न विद्युतीय सवारीसाधन ब्रान्ड बजारमा प्रवेश गरिरहेका छन् । प्रतिस्पर्धीको संख्या बढेसँगै बजार हिस्सा जोगाउन मूल्यमा दबाब बढेको छ । यसको प्रत्यक्ष असर डिलरको नाफामा परेको देखिन्छ ।

इको ड्राइभ सन् २०२१ अक्टोबर १९ मा स्थापना भएको निजी कम्पनी हो । कम्पनीका अध्यक्ष प्रकाशवीर सिंह तुलाधर रहेका छन् । कम्पनीले नेपालमा बीवाईडीका विद्युतीय यात्रुवाहक तथा व्यावसायिक सवारीसाधन बिक्री तथा वितरण गर्दै आएको छ । बीवाईडीको नेपालका लागि एक मात्र आधिकारिक राष्ट्रिय वितरक साइमेक्स इन्क प्रालिसँगको डिलर सम्झौताअन्तर्गत इको ड्राइभले कारोबार गर्दै आएको हो । कम्पनीलाई ललितपुर र धादिङ जिल्लाको बिक्री क्षेत्र दिइएको छ ।

तर डिलरका रूपमा काम गर्दा कम्पनीले सामना गर्नुपर्ने अर्को ठूलो चुनौती कार्यशील पुँजीको आवश्यकता हो । सवारीसाधन खरिदका लागि अग्रिम भुक्तानी गर्नुपर्ने वा घरेलु प्रतीतपत्रमार्फत रकम व्यवस्थापन गर्नुपर्ने भएकाले कम्पनीको ठूलो रकम व्यापारमै अड्किने अवस्था छ । सवारीसाधन पूर्ण रूपमा आयातमा निर्भर भएकाले बिक्री कक्षमा प्रदर्शनका लागि सवारीसाधन राख्नुका साथै ग्राहकको माग पूरा गर्न अतिरिक्त मौज्दातसमेत कायम राख्नुपर्ने बाध्यता छ ।

कम्पनीले ९० करोड रुपैयाँ बराबरको अल्पकालीन बैंकिङ सुविधाका लागि ‘केयर–एनपी ए फोर’ रेटिङ पाएको छ । तर कम्पनीको वित्तीय सूचकले ऋणमा बढ्दो निर्भरता र त्यसको लागतसमेत चिन्ताजनक बन्दै गएको संकेत गर्छ । समग्र ऋण अनुपात आर्थिक वर्ष २०८१/८२ मा १.०६ गुणा रहेकोमा आर्थिक वर्ष २०८२/८३ मा बढेर १.६६ गुणा पुगेको छ । यसले कम्पनीको वित्तीय भार बढेको देखिएको छ ।

कम्पनीको चालु अनुपात भने आर्थिक वर्ष २०८०/८१ को १.१० गुणाबाट आर्थिक वर्ष २०८१/८२ मा १.१९ गुणा पुगेको थियो । आर्थिक वर्ष २०८२/८३ मा यो केही घटेर १.१६ गुणामा आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*