नेशनल लाइफका ३०० कर्मचारीलाई एआईदेखि नेतृत्वसम्मको प्रशिक्षण

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता र व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले नेपालगञ्जस्थित होटल सिद्धार्थमा चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।
कार्यक्रमको समुद्घाटन अध्यक्ष सिंहले पानसमा दीप प्रज्वलन गरी गरेकी थिइन् । समुद्घाटन समारोहमा मन्तव्य व्यक्त गर्दै अध्यक्षले बदलिँदो परिवेशमा कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटी सम्बन्धी तालिमलाई प्राथमिकता दिने र कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले यथाशक्य लगानी गर्ने बताइन् । कर्मचारीको दक्षता र क्षमता अभिवृद्धिले कम्पनीको व्यवसाय प्रवद्र्धनमा समेत सकारात्मक योगदान पुर्याउने उहाँको भनाइ थियो । सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवाड –२०८३’ छनौट हुने कर्मचारी शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई अध्यक्षले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा बेस्ट इम्प्लोई अवार्ड प्राप्त गर्ने कर्मचारीहरुलाई अध्यक्षले बधाई दिदै अन्य कर्मचारीलाई पनि आगामी दिनमा उत्कृष्ट कार्यसम्पादनका लागि शुभकामना व्यक्त गरिन् ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीहरूलाई स्वागत गरेका थिए । स्वागत मन्तव्यको क्रममा, उनले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएको उल्लेख गर्दै ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने, संस्थाका नीति, नियमको पालना तथा कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्ने र ‘समस्या जहाँ भए पनि त्यो संस्थाकै समस्या हो’ भन्ने भावनाका साथ समाधान खोज्ने जिम्मेवार प्रयासले कम्पनीप्रति ग्राहकको विश्वास अझ बलियो बनाउने उनको भनाइ थियो ।

सो अवसरमा कर्मचारीलाई विभिन्न विषयमा प्रशिक्षण समेत प्रदान गरिएको थियो । नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने बताए । यसैगरी अर्का प्रशिक्षक विश्वराज पौडेलले आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण प्रदान गरेका थिए । प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने महत्वपूर्ण भूमिका को बारेमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा, कर्मचारीहरूको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिलाई लक्षित गरी अतिरिक्त क्रियाकलाप पनि समावेश गरिएको थियो । अतिरिक्त क्रियाकलाप अन्तर्गत कम्पनीको सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक (ड्रामा) प्रस्तुत गरेका थिए । यसैगरी विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारी बीच परीक्षा सञ्चालन गरिएको थियो । त्यस्तै अन्तर कर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वार लगायतका खेल समावेश गरी खेलकुद प्रतियोगिता पनि संचालन गरिएको थियो । विजयी टीम र खेलाडीलाई कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो । यसै गरी कार्यक्रमको अन्तिम दिन कर्मचारीहरुलाई रिफ्रेसमेण्टका लागि कर्णाली चिसापानीको भ्रमण पनि गराईएको थियो ।

यस चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान र्पुयाउने अपेक्षा गरिएको छ ।











