एभरेष्ट बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

१३ आश्विन २०८३, मंगलवार ११:४४

काठमाडौँ । एभरेष्ट बैंकले व्यवस्थापकीय तहका दुई पदमा कर्मचारी माग गरेको छ। बैंकले जलविद्युत् आयोजना तथा आयोजना वित्तीय विश्लेषक र डिजिटल बैंकिङ तथा कार्ड विभागअन्तर्गतका पदमा योग्य, ऊर्जाशील तथा स्वप्रेरित नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।

जलविद्युत् आयोजना तथा आयोजना वित्तीय विश्लेषक पदका लागि व्यवस्थापन, व्यवसाय, वाणिज्य वा अर्थशास्त्र विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको वा चार्टर्ड लेखापरीक्षक उपाधि हासिल गरेको हुनुपर्नेछ। बैंकिङ तथा वित्तीय क्षेत्रमा कम्तीमा आठ वर्षको अनुभव, जलविद्युत् आयोजना वा आयोजना वित्तीय क्षेत्रमा काम गरेको अनुभव र व्यवस्थापकीय तहमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक पर्नेछ। आयोजनाको वित्तीय सम्भाव्यता, जोखिम मूल्याङ्कन, कर्जा तथा वित्तीय संरचना, आयोजना अनुगमन र वित्तीय समापनसम्बन्धी ज्ञान भएका उम्मेदवारलाई लक्षित गरिएको छ।

त्यस्तै, डिजिटल बैंकिङ तथा कार्ड विभागको व्यवस्थापकीय पदका लागि व्यवस्थापन, व्यवसाय, वाणिज्य, अर्थशास्त्र वा कम्प्युटर अनुप्रयोग विषयमा स्नातकोत्तर तह उत्तीर्ण वा चार्टर्ड लेखापरीक्षक उपाधि हासिल गरेको हुनुपर्नेछ। बैंकिङ, वित्तीय संस्था वा वित्तीय प्रविधि कम्पनीमा कम्तीमा आठ वर्षको अनुभव तथा डिजिटल बैंकिङ, कार्ड वा वित्तीय प्रविधिको क्षेत्रमा व्यवस्थापकीय तहमा कम्तीमा तीन वर्षको अनुभव आवश्यक छ। डिजिटल भुक्तानी, कार्ड व्यवसाय, उत्पादन विकास, साइबर सुरक्षा, जोखिम व्यवस्थापन तथा नयाँ प्रविधिको प्रयोगसम्बन्धी ज्ञानलाई प्राथमिकता दिइएको छ।

दुवै पदका लागि आवेदन दिने अन्तिम मिति असोज २७ गते मंगलबार अर्थात् अक्टोबर १३, २०२६ तोकिएको छ। आवेदनको अन्तिम मितिसम्म उम्मेदवारको उमेर कम्तीमा ३० वर्ष पुगेको हुनुपर्नेछ। बैंकले योग्यताका आधारमा छोटो सूची तयार गरी अन्तर्वार्ताका लागि बोलाउने जनाएको छ। इच्छुक उम्मेदवारले एभरेस्ट बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*