जिम्बाब्वेमा एआईआरडीसीको २४औँ वार्षिक सम्मेलन, बीमा संरक्षणको खाडल पुर्न जोड

काठमाडौं । जिम्बाब्वेमा विकासशील मुलुकका बीमक तथा पुनर्बीमकहरूको संस्था एसोसिएसन अफ इन्स्योर्स एन्ड रिइन्स्योर्स अफ डेभलपिङ कन्ट्रिज को २४औँ वार्षिक सम्मेलन सुरु भएको छ। जसमा नियामक निकाय नेपाल बीमा प्राधिकरण र बीमा कम्पनीका अधिकारीहरुले पनि सहभागी जनाएका छन् ।
सम्मेलनमा नियामक, बीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका प्रतिनिधिहरूले भूराजनीतिक जोखिम, तीव्र रूपमा भइरहेको प्रविधिको विकास तथा बढ्दो जलवायु जोखिम सामना गर्न सक्ने गरी बीमा बजारलाई थप सबल र लचिलो बनाउनुपर्नेमा जोड दिएका छन्।
सम्मेलनको उद्घाटन गर्दै जिम्बाब्वेका वित्त, आर्थिक विकास तथा लगानी प्रवद्र्धन उपमन्त्री कुडाक्वाशे मनाङ्ग्वाले आर्थिक उत्थानशीलता निर्माणमा बीमाको महत्वपूर्ण भूमिका रहेको बताए। तर, जिम्बाब्वेसहित विकासशील मुलुकहरूमा बीमा संरक्षणको ठूलो खाडल रहेकाले अर्थतन्त्र विभिन्न जोखिमप्रति अझै संवेदनशील रहेको उनको भनाइ छ।
उनले बीमा संरक्षणको खाडल पुर्नु आर्थिक धक्कासँग जुध्ने क्षमता बढाउन र दिगो विकासलाई सहयोग पुर्याउन महत्वपूर्ण रहेको बताए।
“धेरै विकासशील बजारमा ठूलो बीमा संरक्षणको खाडल छ। धेरै घरपरिवार, किसान, लघु, साना तथा मझौला उद्यम र अनौपचारिक व्यवसाय बीमाको पहुँचबाहिर छन् वा अपर्याप्त रूपमा बीमित छन्,” उपमन्त्री मनाङ्ग्वाले भने।
उनले बीमालाई विपद्पछि क्षतिपूर्ति दिने माध्यमका रूपमा मात्र नभई दीर्घकालीन जोखिम व्यवस्थापनको महत्वपूर्ण उपकरणका रूपमा विकास गर्नुपर्नेमा जोड दिए।
“बीमालाई आर्थिक संकटको समयमा क्षतिपूर्ति दिने क्षेत्रको सीमाबाट बाहिर निकालेर विकासको केन्द्रमा लैजानुपर्छ,” उनले भने।
दुर्गम क्षेत्रमा बीमाको पहुँच बढाउन प्रविधिको प्रयोग
उपमन्त्री मनाङ्ग्वाले बीमाको पहुँच विस्तार तथा लागत घटाउन प्रविधि महत्वपूर्ण हुने बताए। डिजिटल प्रविधिको प्रयोगबाट बीमा लेखांकन, दाबी भुक्तानी तथा ग्राहक सेवामा तीव्रता ल्याउन सकिने उनको भनाइ छ।
“दुर्गम क्षेत्रमा बस्ने साना किसानले बीमा सेवा लिन ठूलो सहरसम्म यात्रा गर्नुपर्ने अवस्था हुनुहुँदैन,” उनले भने।
तर प्रविधिको प्रयोगसँगै साइबर सुरक्षा, तथ्यांक संरक्षण, उपभोक्ता हित, एल्गोरिदममा हुने पक्षपात तथा सञ्चालनगत जोखिमलाई समेत प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
उनका अनुसार बीमा कम्पनीहरूले प्रविधिमा आधारित सेवा विस्तार गर्दै जाँदा साइबर सुरक्षा र डेटा संरक्षणलाई पनि उत्तिकै महत्व दिन आवश्यक छ।
एआई र स्याटेलाइट प्रविधिले बदल्दैछ बीमाको अर्थतन्त्र
उपमन्त्री मनाङ्ग्वाले कृत्रिम बुद्धिमत्ता (एआई), बिग डेटा, स्याटेलाइट प्रविधि तथा मोबाइल प्लेटफर्मले बीमाको परम्परागत संरचनालाई परिवर्तन गर्न सक्ने बताए।
यी प्रविधिको प्रयोगबाट जोखिम मूल्यांकन तथा अन्डरराइटिङलाई प्रभावकारी बनाउनुका साथै बीमाको लागत घटाउन र हालसम्म बीमाको पहुँचबाट बाहिर रहेका ग्राहकलाई समेत समेट्न सकिने उनको भनाइ छ।
एआई तथा डेटा एनालिटिक्स बीमा क्षेत्रका लागि अवसरसँगै नयाँ जोखिमको विषय पनि भएको उनले बताए।
जलवायु जोखिम बढ्दै, कृषि बीमामा नयाँ मोडल आवश्यक
सम्मेलनमा जलवायु परिवर्तनबाट कृषि, खाद्य सुरक्षा, पूर्वाधार तथा जनजीविकामा पर्न सक्ने जोखिमबारे समेत चर्चा भएको छ।
उपमन्त्री मनाङ्ग्वाले सन् २०२६–२७ को कृषि मौसममा देखिन सक्ने जोखिमतर्फ संकेत गर्दै विपद् आएपछि मात्रै आर्थिक प्रतिक्रिया दिने परम्परागत प्रणाली पर्याप्त नहुने बताए।
“खडेरी विपद्मा परिणत भएपछि मात्रै वित्तीय प्रतिक्रिया सुरु गर्न सकिँदैन,” उनले भने।
उनले कृषि बीमामा नवप्रवर्तन, इन्डेक्समा आधारित बीमा, प्यारामेट्रिक बीमा, विपद् जोखिम वित्तीयकरण तथा सार्वजनिक–निजी साझेदारीलाई तीव्र बनाउनुपर्ने बताए।
स्याटेलाइट डेटा, मौसमसम्बन्धी सूचना, डिजिटल प्रविधि तथा पूर्वानुमानात्मक विश्लेषणको प्रयोगबाट जोखिम आउनुअघि नै जोखिममा रहेका समुदायलाई वित्तीय सुरक्षा प्रदान गर्न सकिने उनको भनाइ छ।
क्षेत्रीय सहकार्यमा जोड
विकासशील मुलुकहरूले यस्ता चुनौती एक्लैले समाधान गर्न नसक्ने भन्दै उपमन्त्री मनाङ्ग्वाले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए।
बीमा तथा पुनर्बीमा क्षेत्रलाई जोड्ने क्षेत्रीय संस्थाहरूले सहकार्य, नेटवर्किङ, शिक्षा तथा प्राविधिक सहयोग विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए।
सम्मेलनबाट नयाँ साझेदारी, एआईको जिम्मेवार प्रयोगसम्बन्धी रणनीति, बीमा संरक्षणको खाडल कम गर्ने उपाय तथा पुनर्बीमालाई आम नागरिकसम्म थप पहुँचयोग्य बनाउने ठोस पहल अघि बढाउनुपर्ने उनले बताए।
बीमा क्षेत्रमा प्रविधि प्रमुख नवप्रवर्तनको आधार स् एआईआरडीसी अध्यक्ष
एआईआरडीसीका अध्यक्ष डा। आरोन इस्सा अनाफुरेले बढ्दो भूराजनीतिक अनिश्चितता तथा तीव्र प्रविधिगत परिवर्तनका बीच विकासशील मुलुकको आर्थिक उत्थानशीलता र वित्तीय स्थायित्वका लागि बीमा क्षेत्रलाई थप सबल बनाउनुपर्ने बताए।
उनका अनुसार बीमा क्षेत्रले अप्रत्याशित जोखिमबाट आर्थिक सुरक्षा प्रदान गर्दै व्यवसायलाई लगानी तथा आर्थिक गतिविधि सञ्चालन गर्न आधार प्रदान गर्छ।
उनले बीमा क्षेत्रमा नवप्रवर्तनको प्रमुख आधारका रूपमा प्रविधिको भूमिकालाई औंल्याए। प्रविधिले अन्डरराइटिङदेखि ग्राहक सेवासम्म बीमा क्षेत्रका विभिन्न पक्षलाई परिवर्तन गरिरहेको उनको भनाइ छ।
“यी प्रविधिगत विकासले विशेषगरी बीमाको पहुँचबाट वञ्चित समुदायसम्म बीमा उत्पादन विस्तार गर्ने महत्वपूर्ण अवसर प्रदान गर्छन्,” उनले भने।
तर साइबर जोखिम तथा प्रविधिमा असमान पहुँच बीमा क्षेत्रका प्रमुख चुनौतीका रूपमा रहेको उनले बताए।
नियामक, बीमा कम्पनी तथा अन्य सरोकारवालाबीचको सहकार्यबाट वित्तीय सुरक्षा विस्तार गर्दै बीमा संरक्षणको खाडल कम गर्न सकिने अध्यक्ष अनाफुरेले बताए।











