उत्पादनको ७० प्रतिशत निर्यात नगरेका उद्योगलाई कारबाही

१३ आश्विन २०८३, मंगलवार १४:३४

काठमाडौँ । विशेष आर्थिक क्षेत्र (सेज) को कार्यविधिअनुसार कुल उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसक्ने उद्योगमाथि कारबाही हुने भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणले भैरहवास्थित सेजमा सञ्चालित पञ्चकन्या एसएस एक्सपोर्टलाई तोकिएको निर्यात मापदण्ड पूरा गर्न नसकेको भन्दै निष्कासन गरेको छ ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणका निमित्त कार्यकारी निर्देशक डा. दिवाकर लुइँटेलका अनुसार पञ्चकन्या एसएस एक्सपोर्टले कार्यविधिअनुसार उत्पादनको ७० प्रतिशत निर्यात गर्न नसकेपछि कारबाहीस्वरूप निष्कासन गरिएको हो । उक्त उद्योगले मेटल ट्याङ्की उत्पादन गर्दै आएको थियो ।

प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगले कुल उत्पादनको कम्तीमा ७० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था गरेको छ । सेजमा उद्योग स्थापना गर्दा सरकारबाट उपलब्ध गराइने विभिन्न सुविधा तथा सहुलियतको सर्तमा निर्यातलाई अनिवार्य गरिएको हो ।

भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र करिब ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । त्यहाँ १ हजार ४ सयदेखि ३ हजार ७ सय वर्गमिटरसम्मका ६९ वटा औद्योगिक प्लट रहेका छन् । उद्योग स्थापना गर्न आवश्यक पूर्वाधारदेखि कर तथा भन्सारसम्बन्धी विभिन्न सुविधा सरकारले उपलब्ध गराउँदै आएको छ ।

करिब दुई दशकअघि भैरहवामा स्थापना भएको विशेष आर्थिक क्षेत्र देशकै पहिलो निर्यातमुखी औद्योगिक क्षेत्र हो । सेजमा स्थापना भएका उद्योगबाट उत्पादित वस्तु तथा संरचना बाहिर बिक्री गर्न नपाइने व्यवस्था रहेकाले उद्योग बन्द वा स्थानान्तरण गर्दा त्यहाँ निर्माण गरिएका संरचना भत्काएर लैजानुपर्ने व्यवस्था रहेको प्राधिकरणले जनाएको छ ।

उद्योग मन्त्रालयअन्तर्गतको विशेष आर्थिक क्षेत्र प्राधिकरणले देशका विभिन्न स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्न पूर्वसम्भाव्यता तथा सम्भाव्यता अध्ययन गर्दै आएको छ । साथै, सेजमा आवश्यक पूर्वाधार निर्माण गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई उद्योग स्थापना गर्न आकर्षित गर्ने काम पनि भइरहेको छ ।

विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना गर्ने लगानीकर्तालाई कर प्रोत्साहन, भन्सार महसुल छुट तथा सुव्यवस्थित नियामक प्रक्रियालगायतका सुविधा उपलब्ध गराउने व्यवस्था छ । विदेशी लगानी आकर्षित गर्ने उद्देश्यले कर छुट, कम शुल्क तथा उत्पादन र सेवामूलक उद्योग स्थापनाका लागि सहुलियत प्रदान गरिएको प्राधिकरणले जनाएको छ ।

हाल भैरहवा र सिमरामा विशेष आर्थिक क्षेत्र सञ्चालनमा छन् । पाँचखालमा भने पूर्वाधार विकासका लागि थप अध्ययन तथा लगानीकर्ताको खोजी भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*