अख्तियारका सहसचिव योगेन्द्र पाण्डेले दिए राजीनामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव योगेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन्। पाण्डेको राजीनामा बुधबारदेखि लागू हुने भएको छ।
नियमित अवकाशका लागि करिब डेढ वर्ष सेवा अवधि बाँकी रहेकै अवस्थामा पाण्डेले राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारण देखाउँदै पदबाट राजीनामा दिएको बताइएको छ।
संघीय निजामती सेवा विधेयकमा प्रस्तावित ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ सम्बन्धी व्यवस्थापछि सेवा अवधि बाँकी छँदै सचिव, सहसचिवलगायत उच्च तहका कर्मचारीले राजीनामा दिने क्रम बढेको छ।
पछिल्लो समय विभिन्न तहका ५३८ जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। राजीनामा दिनेमा तीन जना सचिव र २५ भन्दा बढी सहसचिवसमेत रहेका छन्।
प्रस्तावित सेवा अवधिसम्बन्धी व्यवस्थाले कर्मचारीको सेवा अवधि र अवकाशसम्बन्धी निर्णयमा प्रभाव पार्ने देखिएपछि उच्च तहका कर्मचारीहरूले समेत समयअगावै राजीनामा दिन थालेका हुन्।











