चियामा अखाद्य रङ मिसावट भेटिएपछि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

१३ आश्विन २०८३, मंगलवार १७:४०

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको चियामा अखाद्य तथा कृत्रिम बाह्य रङ मिसावट भएको पाइएपछि सम्बन्धित उद्योगलाई त्यस्तो चिया तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले नियमित अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेका चियाका नमुना प्रयोगशालामा परीक्षण गर्दा अखाद्य कृत्रिम बाह्य रङ मिसाइएको पुष्टि भएको जनाएको छ ।

गुणस्तरहीन चिया भेटिएपछि विभागले सम्बन्धित उद्योगलाई उक्त उत्पादन बजारबाट फिर्ता गर्न आदेश दिएको हो । साथै, सो उद्योगका अन्य उत्पादनको बिक्री–वितरणसमेत रोक्का राखेर थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै चिया उत्पादक, प्रशोधनकर्ता, प्याकेजिङकर्ता तथा बिक्री–वितरकलाई चियामा कुनै पनि प्रकारको कृत्रिम रङ वा अन्य अखाद्य वस्तु मिसावट नगर्न र नगराउन निर्देशन दिएको छ ।

विभागले सूचनाको अटेर गरी चियामा मिसावट गरेको पाइएमा ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१’ बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*