हवाई दुर्घटनाको क्षतिपूर्ति बढ्दै, बीमा प्रिमियममा कति पर्छ भार ?

काठमाडौं । हवाई दुर्घटनामा यात्रुको मृत्यु भएमा परिवारले पाउने क्षतिपूर्तिको सीमा बढाउने प्रस्तावसँगै यसको बीमा लागत र प्रिमियममा पर्ने प्रभावबारे बहस सुरु भएको छ।
राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा छलफल भइरहेको ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ ले दुर्घटनामा यात्रु वा तेस्रो पक्षको मृत्यु भएमा नजिकका हकवालालाई १ लाख अमेरिकी डलर बराबर क्षतिपूर्ति दिने प्रस्ताव गरेको छ।
हाल आन्तरिक हवाई दुर्घटनामा करिब २० हजार डलर बराबरको बीमा दायित्व रहेको बताइएको छ। प्रस्तावित व्यवस्था कार्यान्वयन भएमा बीमा दायित्व पाँच गुणासम्म बढ्नेछ।
बीमा दायित्व बढेसँगै वायुसेवा कम्पनीले तिर्नुपर्ने बीमा प्रिमियम बढ्न सक्ने र त्यसको अप्रत्यक्ष असर हवाई टिकटको मूल्यमा पर्न सक्ने सरकारको तर्क छ। पर्यटनमन्त्री खडकराज पौडेलले २० हजार डलरबाट एकैपटक १ लाख डलरमा पुग्दा प्रिमियम शुल्क बढ्न सक्ने बताएका छन्।
यता, कांग्रेस सांसद खम्मबहादुर खातीले क्षतिपूर्ति सीमा १ लाख ५० हजार डलर पुर्याउनुपर्ने सुझाव दिएका छन्। साथै, क्षतिपूर्ति रकमलाई समयअनुकूल बनाउन प्रत्येक पाँच वर्षमा पुनरावलोकन गर्ने व्यवस्था राख्नुपर्ने उनको प्रस्ताव छ।
विधेयकमा दुर्घटनापछि क्षतिपूर्ति तत्काल उपलब्ध नभए शव बुझाउने समयमा कम्तीमा ५ लाख रुपैयाँ अन्त्येष्टि खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।
अब समितिको छलफलमा यात्रुको आर्थिक अधिकारसँगै बढ्दो क्षतिपूर्ति दायित्वले वायुसेवा कम्पनीको बीमा लागत र प्रिमियममा पार्ने प्रभाव पनि महत्वपूर्ण विषय बनेको छ।











