ग्यास आपूर्ति सहज बनाउन सुरक्षा निकायलाई एलपीजी बिक्रीको अनुमति दिने तयारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा निकायलाई पनि खाना पकाउने ग्यास (एलपीजी) बिक्री वितरण गर्न अनुमति दिने तयारी भइरहेको बताएका छन् ।
विकास आर्थिक मामिला तथा सुशासन समितिले शुक्रबार आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुहरूको सहज आपूर्ति व्यवस्थापन र अनुगमन’ विषयक कार्यक्रममा बोल्दै सचिव तामाङले ग्यासको आपूर्ति असहज भएको अवस्थामा सुरक्षा निकायका आउटलेटमार्फत समेत बिक्री वितरण गर्न सकिने व्यवस्था मिलाउन लागिएको जानकारी दिए ।
उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले पेट्रोलियम पदार्थ बिक्री वितरण गर्दै आएका छन् । ती निकायका पेट्रोलियम बिक्री केन्द्रबाट ग्याससमेत वितरण गर्न सके आपत्कालीन अवस्थामा आपूर्ति व्यवस्थापन सहज हुने उनको भनाइ छ ।
‘अहिले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायले पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आइरहेका छन्,’ उनले भने, ‘सुरक्षा निकायको आउटलेटबाट पनि ग्यास वितरण गर्न सकेको खण्डमा धेरै सहज हुनेछ ।’
सचिव तामाङले पेट्रोल बिक्री गर्ने सुरक्षा निकायका आउटलेटमध्ये कम्तीमा एक–दुई स्थानबाट ग्यास बिक्री वितरण गर्नेगरी आवश्यक तयारी अघि बढाउन लागिएको बताए ।











