बालेन शाहको कानमा टल्किरहेको टप र मलिन अनुहार

नबराज न्यौपाने
१६ आश्विन २०८३, शुक्रबार १२:३५

संयुक्त राष्ट्र संघको ८१ औं महासभामा सम्बोधन गरिरहँदा बालेन्द्र शाह केही अत्तालिएका थिए र भित्रभित्रै नर्भस समेत भएको हाउभाऊबाट प्रष्ट झल्किन्थ्यो । बालेनका ओठमा परेको कलेटीले उनको मनभित्र दौडिरहेको चिजको अवस्था झल्किरहेको थियो । मलिन अनुहारलाई रोक्न कानको टपले सक्दैनथ्यो, छिन छिनमा जीऊ कसिलो पारेर आत्मबल ग्रहण गर्दै गरेको दृष्यले अझै धेरै कुरा बोलिरहेको थियो । तर, त्यतिबेला बालेनको कानमा भने टप टल्किरहेको थियो । धपधपी बलिरहेको थियो । दुई कानमा लगाएको टपमा परेको प्रकाश परावर्तन भएर पर परसम्म पुगिरहेको थिए, कलेटी परेका ओठ अनि न्याउरिएका अनुहार विश्वभरका मनोविज्ञानकर्ताहरुले पढिरहेका थिए ।

त्यसो त बालेन सधैं टप लगाउँछन् । बिहिवार बसेको प्रतिनिधि सभाको बैठकमा पनि टप लगाएर उपस्थित भएका थिए । संयुक्त राष्ट्र संघका महासचिव गुट्रेससँग भेट गर्दा खोलिएको चश्मा फोटो खिच्ने बेला पुनः लगाएका थिए । न्यूयोर्क टाईम्सदेखि विश्वभरका धेरै सञ्चार माध्यमहरुमा बालेनका चश्मा र टपको चर्चा भइसकेको छ ।
बालेन कम बोल्ने र काम बढी गर्ने नेतामा पर्दछन् । त्यसैले पनि उनले संसदमा समेत खासै उपस्थित हुँदैनथ्ये । आजभोलि अलिअलि संसदमा झुल्किन थालेका छन् । तर, शैली उहीः कालो चश्मा, कानमा टप, कालो कपडा ।

अब कुरा गरौं टप र कालो चश्माको । यसको खास अर्थ के हो त ? पुरुषको कान छेड्ने परम्परालाई ‘कर्णवेध’ संस्कार भनिन्छ । कानमा लगाउने यस्ता टप वा कुण्डललाई ‘कर्णफूल’ भनिन्छ । मिथिला संस्कृतिमा कर्णवेद संस्कृति अनुसार बाल्यकालमा नै कान छेड्ने चलन छ । यसलाई सुरक्षा कवचको रुपमा समेत हेर्ने गरिएको छ । मिथिला सभ्यतामा यसरी टप लगाउने कार्यलाई वीरता, कुलको मर्यादा र पुरुषत्वको गहनाको रुपमा समेत हेर्ने गरिएको छ ।

लेखक जेम्स शेयरवुडको पुस्तक ज्वैलरी फर जेन्टलम्यानमा पुरुषले लगाउने टपलाई राजा, साहसी योद्धाले लगाउने उल्लेख छ । अक्सफोर्ड विश्व विद्यालयले प्रकाशित गरेको पुस्तक ‘द अक्सफोर्ड ह्याण्डबुक अफ द आर्कियोलोजी एण्ड एन्थ्रोपोलोजी अफ बडी मोडिफिकेशन’ मा दक्षिण एसिया तथा सिन्धुघाँटी सभ्यताका युवाहरुमा कान छेडेर टप लगाउने संस्कृतिको बारेमा व्याख्या गरिएको छ ।

नेपालमा मल्ल कालमा १३ शताब्दीपछिका राजाहरुले कानमा कुण्डल वा बहुमूल्य धातुको टप लगाउने प्रचलन रहेको पाइन्छ । यस्तो कार्यलाई ऐश्वर्य, पराक्रम र धार्मिक निष्ठाको रुपमा पनि हेर्ने गरिएको थियो । भक्तपुरका राजा भुपतिन्द्र मल्लको शालिकमा कानमा टप लगाएको प्रष्ट देख्न सकिन्छ । त्यस्तै, काठमाडौंका राजा प्रताप मल्लको शालिकमा रहेको कानममा विशेष प्रकारको भूषण झण्डिएको देख्न सकिन्छ । त्यस्तै, पाटनका राजा सिद्धिनर सिंह मल्लको शालिकमा पनि कानमा विशेष प्रकारको गहना देख्न सकिन्छ । आधुनिक विज्ञानको युगमा पनि कानमा धातु धारण गर्नु भनेको शितलताको प्रतिक, धेर्यैवान बनाउँछ भन्ने विश्वास गरिन्छ ।

कानको टपको चर्चा जुन कोणबाट पनि गर्न सकिन्छ । तर बालेनले टप संस्कृति राजा महेन्द्रले झै कालो चश्मा लगाउने संस्कृति एकैसाथ अघि बढाइरहेको भएपनि जसरी टपमा चमक आइरहेको छ, त्यसैगरी उनको अनुहारमा चमक आउन सकिरहेको छैन । निर्वाचन अघि देशलाई का का न पुर्याउँछु भनेर मौनतालाई हतियार बनाएका उनले अझै मौन हतियारको प्रयोग छोडेका छैनन् । मौनताको हतियार किन बनाइरहेका छन् र कानको टप झै अनुहारमा चमक किन आइरहेको छैन ? यो ? दिनानुदिन बलियो बन्दै गइरहेको छ । आगामी दिनमा यसको जवाफ अनुहारले पक्कै दिनेछ भन्ने आशा जीवित रहोस्, टप चम्किए झै अनुहार पनि चम्किरहोस् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*