सानिमा बैंकको वित्तीय विवरणमा कैफियत, सुधार गर्न राष्ट्र बैंकको निर्देशन

२० आश्विन २०८३, मंगलवार १४:०३

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सानिमा बैंक लिमिटेडलाई वित्तीय विवरणमा लेखापरीक्षणका क्रममा औंल्याइएका कैफियत तत्काल सुधार गर्न निर्देशन दिएको छ। राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आ.व. २०८२/८३ को वार्षिक वित्तीय विवरण प्रकाशन तथा लाभांश वितरणसम्बन्धी स्वीकृति दिँदै लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका कमजोरी पूर्णरूपमा सुधार गर्न र आगामी दिनमा त्यस्ता समस्या दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ४७ को उपदफा (२) का प्रावधान पालना गरेको देखिएपछि सोही ऐनको उपदफा (१) बमोजिम सानिमा बैंकले आ.व. २०८२/८३ को सञ्चित मुनाफाबाट लाभांश वितरण गर्न स्वीकृति दिएको हो। राष्ट्र बैंकका अनुसार बैंकको सञ्चित मुनाफा २ अर्ब ८८ करोड ४९ लाख ५६ हजार ९३७ रुपैयाँ ४८ पैसा रहेको छ।

बैंकले कायम चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ ३३ पैसाको १० प्रतिशतका दरले १ अर्ब ३५ करोड ८१ लाख ५२ हजार ५४१ रुपैयाँ ४३ पैसा नगद लाभांश वितरण गर्न सक्नेछ। उक्त नगद लाभांशमा कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश हुनेछ। त्यसैगरी बैंकले जारी गरेको अविमोच्य असञ्चिति अग्राधिकार शेयरमा तोकिएको वार्षिक ८.२५ प्रतिशतका दरले ५ करोड २४ लाख ३८ हजार ३५६ रुपैयाँ १६ पैसा नगद लाभांश वितरण गर्न पनि स्वीकृति दिइएको छ।

यद्यपि, राष्ट्र बैंकले उक्त लाभांश वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि र अन्य प्रचलित कानुनी व्यवस्था तथा राष्ट्र बैंकका निर्देशनको पूर्ण पालना गरेर मात्रै वितरण गर्नुपर्ने स्पष्ट गरेको छ। साथै, आ.व. २०८२/८३ को वार्षिक हिसाब पनि वार्षिक साधारणसभाबाट स्वीकृतिका लागि पेश गर्न राष्ट्र बैंकले सहमति दिएको छ।

राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका कैफियत पूर्णरूपमा सुधार गर्न, त्यस्ता कमजोरी पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउन र राष्ट्र बैंकबाट जारी निर्देशन, परिपत्र तथा प्रचलित कानुनी व्यवस्थाको पूर्णरूपमा पालना गरेर मात्र लाभांश वितरण गर्न बैंकलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकको स्वीकृतिपत्रमा उल्लेखित निर्देशन कार्यान्वयन गर्ने सम्बन्धमा सानिमा बैंकले पनि लेखापरीक्षण प्रतिवेदनमा औंल्याइएका कैफियत क्रमशः सुधार गर्दै लैजाने र त्यस्ता कैफियत पुनः दोहोरिन नदिन आवश्यक व्यवस्था मिलाउने प्रतिबद्धता जनाएको छ। बैंकको साधारण सभा असोज १२ गते नै सम्पन्न भइसकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*