पुँजी बजारमा सुधारः लगानीकर्तामा छैन उत्साह, दशैंको प्रभाव कि अझै खतराको डर ?

२० आश्विन २०८३, मंगलवार १५:०७

काठमाडौँ । निरन्तर सुस्त देखिँदै आएको शेयर बजारमा आज भने सामान्य सुधार देखिएको छ । बजार सुधारका लागि सरकारी तथा नियामक निकायबाट विभिन्न नीतिगत पहल भइरहे पनि त्यसको प्रभाव कारोबार र नेप्से सूचकमा अपेक्षित रूपमा देखिन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही व्यवस्थामा सहजीकरण गरेसँगै नेपाल धितोपत्र बोर्डले पनि बजारप्रतिको विश्वास बढाउने र कारोबारलाई व्यवस्थित बनाउने प्रयास गरिरहेको छ। लामो समयको गिरावटपछि कतिपय कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा न्यून तहमा पुगेका छन्। यसैबीच, सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांश घोषणा गर्न थालेकाले बजारमा खरिद चाप बढ्ने अपेक्षा थियो। तर समग्र आर्थिक अवस्था र बजारको भविष्यप्रतिको अन्योल कायम रहँदा यस्ता सकारात्मक पक्षले पनि लगानीकर्तालाई पर्याप्त रूपमा आकर्षित गर्न सकेका छैनन् ।

दशैं नजिकिँदै जाँदा चाडपर्व तथा पारिवारिक खर्च व्यवस्थापनका लागि केही लगानीकर्ताले शेयर बिक्री बढाएको बजारका सहभागीहरू बताउँछन्। नयाँ लगानी तथा पुँजी बजारमा भित्रिने रकमको गति सुस्त हुँदा बिक्रीको दबाबले बजार सुधारलाई थप चुनौती दिएको छ। त्यसमाथि ठूला लगानीकर्ताको लगानी स्रोत र सम्पत्ति शुद्धीकरणसँग जोडिएका विषयमा निरन्तर चासो बढ्दा ठूलो रकम परिचालन गर्ने लगानीकर्ता पनि तत्काल लगानी निर्णय गर्न हिच्किचाइरहेका छन्। ठूला लगानीकर्ताको सक्रियता घट्दा साना तथा मध्यम लगानीकर्ताको कारोबारले मात्रै बजारमा पर्याप्त माग सिर्जना गर्न कठिन भएको देखिन्छ।

बजारको पछिल्लो अवस्थाले लगानीकर्तालाई खरिद गर्ने वा केही समय अझै पर्खने भन्ने निर्णयमा अलमलमा पारेको छ। मूल्य घटेका कारण केही शेयर आकर्षक देखिए पनि बजारले दिगो सुधारको बाटो समात्ने आधार स्पष्ट नभएकाले नयाँ लगानीकर्ता जोखिम लिन हिच्किचाइरहेका छन्। यसअघि नै लगानी गरिसकेका लगानीकर्तासमेत थप गिरावट आउने हो वा सुधार सुरु हुने हो भन्ने यकिन संकेतको प्रतीक्षामा छन्। खरिद र बिक्री दुवै पक्षमा स्पष्ट निर्णय हुन नसक्दा बजारमा ‘पर्ख र हेर’को अवस्था कायम रहेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.९६ अकंले बढेर २५७८.७३ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको ८९ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १३ करोड ८१ लाख १९ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन ११ उपसूचक भने सुधार देखिएको छ । आज लघुवित्त समूह र निर्जीवन बीमा समूहको शेयर मूल्य मात्रै घटेको हो ।

मंगलबार ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*