काठमाडौंमा ठूलो परिमाणको वाइनमा लेदोजस्तो पदार्थ भेटियो, बिक्रीमा रोक

२१ आश्विन २०८३, बुधबार १४:२१

काठमाडौँ ।  काठमाडौंको गोकर्णेश्वरमा ठूलो परिमाणमा भण्डारण गरिएको वाइनमा लेदोजस्तो शंकास्पद पदार्थ भेटिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागसहितको संयुक्त अनुगमन टोलीले गोकर्णेश्वर नगरपालिका–४ स्थित शुभ ओजस सप्लायर्समा अनुगमन गर्ने क्रममा सङ्खुवासभाको मकालु वाइन इन्डष्ट्रिजले उत्पादन गरेको ‘हिन्वा’ ब्रान्डको वाइनमा आँखाले स्पष्ट देखिने गरी लेदो जमेको फेला पारेको हो।

अनुगमनका क्रममा ६५० मिलिलिटरका २ हजार २३२ बोतल र ४ लिटरका ६६ प्याकेट वाइनमा शंकास्पद पदार्थ भेटिएको विभागले जनाएको छ। यस्तै, ललितपुरको झरुवारासी, गोदावरीमा उत्पादित ६५० मिलिलिटरका थप ४२० बोतल वाइनमा समेत लेदोजस्तो पदार्थ जमेको पाइएको छ।

शंकास्पद अवस्थामा भेटिएका सबै वाइनको बिक्री–वितरणमा तत्काल रोक लगाइएको छ। स्थानीय जनप्रतिनिधिको रोहबरमा ती वाइन सम्बन्धित व्यवसायीकै जिम्मामा रोक्का राखिएको छ भने गुणस्तर परीक्षणका लागि नमुना संकलन गरिएको विभागले जनाएको छ।

विभागसहितको संयुक्त टोलीले काठमाडौं उपत्यकाका २३ वटा खाद्य व्यवसाय, मार्ट, रेस्टुरेन्ट तथा उद्योगमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा कालीमाटी, चन्द्रागिरि, बुढानीलकण्ठ र खिचापोखरी क्षेत्रका खाद्य व्यवसायमा खाद्य स्वच्छता, भण्डारण र गुणस्तरको अवस्था जाँच गरिएको थियो।

बुढानीलकण्ठस्थित बुढानीलकण्ठ नेचर क्याम्पिङको भान्सामा शाकाहारी र मांसाहारी खाद्यपदार्थ एउटै फ्रिजमा राखिएको, सिन्थेटिक खाद्य रङ प्रयोग गरिएको तथा भान्सामा साङ्लाको बाक्लो उपस्थिति रहेको पाइएको विभागले जनाएको छ। एउटै चपिङ बोर्डबाट खाद्य सामग्री काट्ने गरिएको समेत भेटिएको थियो।

अनुगमनका क्रममा उक्त क्याम्पिङबाट म्याद सकिएका ९ प्याकेट बेसन, ९ प्याकेट मेथी र ३ प्याकेट प्रशोधित दूधसमेत फेला परेको थियो। ती बिग्रिएका खाद्य सामग्री नष्ट गरी व्यवसायीलाई सुधारको प्रमाणसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

यसैगरी, बुढानीलकण्ठ–२ स्थित बीआईईटीले निर्यातका लागि तयार गरेको ‘तिखालाल’ ब्रान्डको धुलो खुर्सानीमा एफ्लाटोक्सिनको मात्रा अत्यधिक रहेको अन्तर्राष्ट्रिय सूचना प्राप्त भएपछि विभागले अनुगमन गरेको थियो। अनुगमनका क्रममा उद्योगीले २० किलो खुर्सानीको धुलो नष्ट गरेको विभागले जनाएको छ।

चन्द्रागिरिका विभिन्न किराना पसल तथा मिनी मार्टमा समेत ठूलो परिमाणमा म्याद नाघेका खाद्यवस्तु बिक्रीका लागि राखिएको भेटिएको थियो। महिमा मिनी मार्ट, न्यू डिएस स्टोर, कल्पवृक्ष जनरल स्टोर र न्यू पाण्डे सप्लायर्सबाट म्याद नाघेका अचार, दालमोठ, मसला, तेल, बदाम, कर्नफ्लेक्स, सस र मिस्रीलगायत खाद्य सामग्री बरामद गरी नष्ट गरिएको विभागले जनाएको छ।

अनुगमन टोलीले व्यवसायीलाई खाद्य र अखाद्य वस्तु छुट्टाछुट्टै भण्डारण गर्न, सरसफाइमा प्रयोग हुने रसायन अलग राख्न, म्याद नाघेका सामग्रीका लागि छुट्टै ‘एक्स्पायरी जोन’ बनाउन तथा खाद्य सामग्रीलाई घामको प्रत्यक्ष सम्पर्कबाट जोगाएर भण्डारण गर्न निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*