थप अनिश्चित बन्दै पुँजी बजारः लगानीकर्तामा हैरानी, यी कारण बढ्न सकेको छैन मार्केट!

२१ आश्विन २०८३, बुधबार १५:०४

काठमाडौँ । केही दिनयता सामान्य उतारचढाव देखिएको नेपाली शेयर बजारमा पुनः दबाब बढेको छ । अघिल्लो दिन सामान्य सुधार भएको बजार आज भने ओरालो लागेको हो । बजारलाई चलायमान बनाउन सरकारी तथा नियामक निकायबाट विभिन्न कदम चालिए पनि त्यसको प्रभाव नेप्से सूचक र कारोबार रकममा अपेक्षाअनुसार देखिन सकेको छैन । निरन्तरको गिरावटले धेरै कम्पनीको शेयरमूल्य तुलनात्मक रूपमा सस्तो बने पनि लगानीकर्ताको मनोबल भने अझै बलियो हुन सकेको छैन ।

नेपाल राष्ट्र बैंकले शेयर बजारसँग सम्बन्धित केही नीतिगत व्यवस्थामा लचकता अपनाएपछि नेपाल धितोपत्र बोर्डले पनि बजारप्रति लगानीकर्ताको भरोसा बढाउने तथा कारोबार प्रणालीलाई थप व्यवस्थित बनाउने दिशामा काम गरिरहेको छ। यसैबीच, सूचीकृत कम्पनीहरूले अघिल्लो आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गर्दै लाभांशसम्बन्धी निर्णय अघि बढाइरहेका छन्। यस्ता गतिविधिले बजारमा माग बढ्ने अपेक्षा गरिए पनि समग्र आर्थिक वातावरण र आगामी दिनमा बजारले लिने दिशाबारे रहेको अनिश्चितताका कारण सकारात्मक संकेतले अपेक्षित उत्साह सिर्जना गर्न सकेको छैन।

दशैं नजिकिँदै गर्दा घरायसी तथा चाडपर्वसँग सम्बन्धित खर्च जुटाउन केही लगानीकर्ताले शेयर बेच्ने क्रम बढाएको बजारका जानकारहरू बताउँछन्। अर्कोतर्फ, नयाँ रकम शेयर बजारमा प्रवेश गर्ने गति कमजोर हुँदा बिक्रीको चापलाई सन्तुलन गर्न कठिन भइरहेको छ। ठूला लगानीकर्ताको लगानी स्रोत, सम्पत्ति शुद्धीकरणलगायत विषयमा बढ्दो निगरानीले पनि ठूलो रकम परिचालन गर्नेहरूलाई लगानी निर्णय लिन थप सतर्क बनाएको छ। यसको प्रत्यक्ष असर बजारमा ठूला कारोबार र माग सिर्जनामा परेको देखिन्छ।

यस्तो अवस्थामा साना तथा मध्यम लगानीकर्ताको सक्रियताले मात्र बजारलाई बलियो रूपमा माथि लैजान पर्याप्त आधार बन्न सकेको छैन। लामो समयदेखि घटेको शेयरमूल्यका कारण कतिपय कम्पनी लगानीका दृष्टिले आकर्षक देखिए पनि बजारमा दिगो सुधार सुरु भएको विश्वास गर्ने पर्याप्त संकेत अझै देखिएका छैनन्। त्यसैले नयाँ लगानीकर्ता जोखिम लिनुअघि अवस्था स्पष्ट हुन पर्खिरहेका छन् भने पहिले नै लगानी गरिसकेकाहरू पनि थप रकम लगाउने कि अहिलेको लगानी जोगाएर बस्ने भन्ने दोधारमा छन्।

अहिलेको शेयर बजारमा खरिदकर्ताभन्दा पनि निर्णय गर्नुअघि अवस्था नियाल्ने प्रवृत्ति बलियो देखिएको छ। बजार घटेर न्यून मूल्यमा आएका कम्पनीमा अवसर देख्नेहरू भए पनि सुधारको स्थायित्वबारे विश्वस्त हुने आधार कमजोर हुँदा तत्काल ठूलो खरिद चाप बन्न सकेको छैन। बिक्री गर्ने र खरिद गर्ने दुवै पक्षमा पर्याप्त आत्मविश्वास नहुँदा नेप्सेमा स्पष्ट दिशाको अभाव देखिएको छ। बजारले आगामी दिनमा दिगो सुधारको संकेत नदिएसम्म लगानीकर्ताबीचको यो ‘पर्ख र हेर’ अवस्था केही समय अझै कायम रहन सक्ने देखिन्छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.३८ अकंले बढेर २५७२.३४ बिन्दुका कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड २ लाख ८७ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ७४ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन १२ उपसूचक राताम्य भएका छन् । आज वाणिज्य बैंक समूहको शेयर मूल्य मात्रै ०.०८ प्रतिशतले बढेको हो ।

बुधबार १०० कम्पनीको शेयर मूल्य बढेको छ भने १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*