एक लाख घुस लिँदै मलंगवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको मलंगवा नगरपालिकामा कार्यरत इन्जिनियर डिकेश कुमार यादव र सुपरभाइजर सहायक (चौथो) कौशल कुमार मधुकरलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
निर्माण भइसकेको भवनको नक्सा दर्ता तथा अभिलेखीकरण गराउने कार्यमा सेवाग्राहीलाई दुःख–हैरानी दिई घुस माग गरेको भन्ने सूचना तथा उजुरीका आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार यादव र मधुकरले सेवाग्राहीबाट घुसबापत १ लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ परेका हुन्। उनीहरूको साथबाट स्रोत नखुलेको थप ३३ हजार ७०५ रुपैयाँसमेत बरामद भएको छ।
अख्तियारले दुवैजनालाई २०८३ असोज २० गते मलंगवा नगरपालिकाबाट नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूविरुद्ध घुस तथा भ्रष्टाचारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।











