विजयादशमीमा बालेन शाहको सन्देश : ‘सोचसँगै व्यवहार बदलौँ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले विजयादशमीको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको प्रतीक विजयादशमीले सबैलाई सकारात्मक सोच र सत्कर्मको बाटोमा अघि बढ्न प्रेरणा दिने बताएका छन् ।
उनले पौराणिक मान्यताअनुसार विजयादशमीकै दिन दुर्गा भवानीले महिषासुरमाथि र भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको स्मरण गरेका छन् । यस दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराले परिवार तथा आफन्तबीच आत्मीयता र सम्बन्धलाई थप प्रगाढ बनाउने उनको भनाइ छ ।
प्रधानमन्त्री शाहले विजयादशमीलाई समाजमा विद्यमान नकारात्मक प्रवृत्ति त्याग्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन् । अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता सोच अन्त्य गर्दै भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन सबै एकजुट हुनुपर्नेमा उनले जोड दिएका छन् ।
‘आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ प्रधानमन्त्री शाहले सन्देशमा भनेका छन् ।
उनले इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनतबाट मात्रै समाजमा रहेका विकृति हटाउन सकिने उल्लेख गर्दै परिवर्तनका लागि सोचसँगै व्यवहारमा पनि परिवर्तन आवश्यक रहेको बताएका छन् ।
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने पनि उनले बताएका छन् ।











