साइबर सुरक्षामा अब्बल देखिए नबिल-माछापुच्छ्रे-प्राइम र सिटिजन्स बैंक, बन्द सेवा पुनः सञ्चालन

८ कार्तिक २०८३, आईतवार ०७:०७

काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा देखिएको साइबर सुरक्षा जोखिमपछि सतर्कता अपनाउँदै अस्थायी रूपमा बन्द गरिएका बैंक तथा वित्तीय संस्थाका डिजिटल सेवाहरू क्रमशः सञ्चालनमा आउन थालेका छन् । प्राविधिक जाँच, सुरक्षा प्रणालीमा सुधार र आवश्यक अद्यावधिकपछि बैंकहरूले रोकिएका सेवा पुनः सुरु गरेका हुन् ।

नेपाल राष्ट्र बैंकले पीएचपीमा आधारित प्रणालीमा हुन सक्ने सुरक्षा जोखिमलाई मध्यनजर गर्दै बैंक तथा वित्तीय संस्था, भुक्तानी प्रणाली सञ्चालक र सेवा प्रदायकलाई डिजिटल पूर्वाधारको सुरक्षा मजबुत बनाउन निर्देशन दिएको थियो । त्यसपछि सम्भावित जोखिमबाट ग्राहकको विवरण तथा वित्तीय कारोबार जोगाउन विभिन्न बैंकले आफ्ना वेबसाइट र केही अनलाइन सेवा अस्थायी रूपमा बन्द गरेका थिए ।

प्राइम कमर्सियल बैंकले अनलाइन खाता खोल्ने सुविधा, मुद्दती निक्षेप सेवा र ग्राहक पोर्टललगायतका प्रणाली केही समयका लागि स्थगित गरेको थियो । आवश्यक प्राविधिक काम पूरा भएपछि ती सेवा पुनः सञ्चालनमा ल्याइएको जानकारी बैंकले सार्वजनिक सूचनामार्फत दिएको छ ।

त्यसैगरी, नबिल बैंकले एनबैंक माइक्रोसाइट, जेनअल्फा एप तथा अनलाइन कार्ड अनुरोध र मुद्दती निक्षेप कर्जासँग सम्बन्धित केही सुविधामा अस्थायी अवरोध आएको जनाएको थियो । बैंकले आफ्नो मुख्य वेबसाइट अद्यावधिक गरी सञ्चालनमा ल्याएको र बैंकिङ प्रणालीमा समस्या नरहेको जानकारी दिएको छ ।

माछापुच्छ्रे बैंकले पनि पीएचपीमा आधारित प्रणालीको सुरक्षा अद्यावधिक गर्ने क्रममा वेबसाइटसहित केही अनलाइन सेवा बन्द गरेको थियो । आवश्यक प्राविधिक प्रक्रिया पूरा भएसँगै अवरुद्ध सेवा पुनः सञ्चालन गरिएको बैंकले जनाएको छ ।

यसैबीच, सिटिजन्स बैंक इन्टरनेशनलले पनि अस्थायी रूपमा स्थगित गरिएका सेवाहरू पुनः सञ्चालनमा आएको जानकारी दिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले सार्वजनिक सन्देशमार्फत ग्राहकको व्यक्तिगत विवरण र वित्तीय कारोबारको सुरक्षा बैंकको प्राथमिकतामा रहेको बताएका छन् ।

उनका अनुसार पीएचपी प्रविधिसँग सम्बन्धित अन्तर्राष्ट्रिय साइबर जोखिमलाई ध्यानमा राख्दै सावधानीका रूपमा केही सेवा रोकिएको थियो । बैंकको सूचना प्रविधि तथा साइबर सुरक्षा टोलीले आवश्यक प्राविधिक सुधार र सुरक्षा परीक्षण पूरा गरेपछि ती सेवा पुनः सञ्चालनमा ल्याइएको उनले उल्लेख गरेका छन् ।

डिजिटल बैंकिङमा सेवा निरन्तर उपलब्ध गराउनुका साथै ग्राहकका संवेदनशील विवरण र कारोबार सुरक्षित राख्नु पनि बैंकहरूको महत्वपूर्ण जिम्मेवारी हो । त्यसैले सम्भावित कमजोरी पहिचान भएपछि सेवा अस्थायी रूपमा रोक्ने, प्रणाली परीक्षण गर्ने र आवश्यक सुधारपछि पुनः सञ्चालन गर्ने अभ्यासलाई जोखिम व्यवस्थापनको एउटा उपायका रूपमा लिइन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*