बाढीले उत्पादन प्रभावित हुँदा पनि विद्युत् निर्यातबाट असोजमा पौने ६ अर्ब आम्दानी

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ विद्युत् बिक्री गरेर करिब ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । केही जलविद्युत् आयोजनाको उत्पादन बाढीका कारण प्रभावित भए पनि विद्युत् निर्यातबाट हुने कारोबार रकम भने बढेको छ ।
प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) का अनुसार असोजमा भारततर्फ ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत् निर्यात गरिएको हो । उक्त परिमाणको विद्युत् बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसैबीच, भारतको प्रसारण प्रणाली हुँदै बङ्गलादेशतर्फ गरिँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ ।
असोज महिनामा भारततर्फ निर्यात गरिएको विद्युत् दुई माध्यमबाट बिक्री गरिएको थियो । प्राधिकरणले द्विपक्षीय विद्युत् बिक्री सम्झौताअन्तर्गत भारतको हरियाणा र बिहार राज्यमा विद्युत् बिक्री गरेको थियो । त्यसबाहेक भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे-अहेड र रियल टाइम बजारमार्फत प्रतिस्पर्धी मूल्यमा विद्युत् बिक्री गरिएको थियो ।
नेपालमा वर्षायाममा विद्युत् उत्पादन बढ्ने र आन्तरिक माग पूरा गरेपछि बचत हुने विद्युत् भारत तथा बङ्गलादेशमा निर्यात गर्ने गरिएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा र बिहारमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री हुँदै आएको छ ।
गत वर्षको असोजमा भारततर्फ विद्युत् निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । त्यसको तुलनामा चालु आवको असोजमा निर्यात कारोबार ९६ करोड २० लाख रुपैयाँले बढेको छ ।
त्यस्तै, चालु आवको भदौमा भारततर्फ विद्युत् निर्यातबाट ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । भदौको तुलनामा असोजमा निर्यात कारोबार ८३ करोड २५ लाख रुपैयाँले वृद्धि भएको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा मात्रै प्राधिकरणले विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ ।











