आजको मौसम : कोशी, मधेस र बागमतीमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा रहने

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। राति भने देशभर आंशिक बादल लाग्ने पूर्वानुमान छ।
बुधबार देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, बिहीबार देशभर साधारणतया बादल लाग्नेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।











