मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मञ्जुश्री फाइनान्स र बरुण हाइड्रोपावरका शेयरधनीका लागि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि (कात्तिक ११ गते) बुक क्लोज गर्ने भएका छन्।
यसअनुसार आजसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर कारोबार भई कायम रहेका शेयरधनीले दुवै कम्पनीको साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
मञ्जुश्री फाइनान्सले कात्तिक २० गते शुक्रबार आफ्नो १९औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित थापागाउँ ब्याङ्केटमा बिहान ११ बजे सुरु हुने सभामा चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ।
त्यस्तै, सभाले ४० करोड रुपैयाँ बराबरको ८.७५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ। यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव सभामा पेस गरिनेछन्।
यता, बरुण हाइड्रोपावरले पनि कात्तिक २० गते नै आफ्नो २३औँ वार्षिक साधारण सभा बोलाएको छ। काठमाडौंको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान साढे ९ बजे सुरु हुने सभाले चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ।
बरुण हाइड्रोपावरको सभामा बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्तावसमेत पेस हुनेछ। त्यसैगरी, संस्थापक शेयरधनीका तर्फबाट तीन जना र सर्वसाधारण शेयरधनीका तर्फबाट एक जना गरी चार जना सञ्चालक निर्वाचित गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र लेखापरीक्षक नियुक्त गर्नेलगायतका प्रस्ताव पनि सभामा पेस गरिनेछन्।











