एलपी ग्यास बिक्री गर्दा अनिवार्य भ्याट बिल जारी गर्न निगमको निर्देशन

काठमाडौं । नेपाल आयल निगमले एलपी ग्यास बिक्री गर्ने विक्रेतालाई ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल जारी गरेर मात्रै ग्यास बिक्री–वितरण गर्न निर्देशन दिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले सोमबार साँझ निगमको निर्देशनसम्बन्धी पत्र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्। ग्यास बिक्री गरेपछि बिलबिजक जारी नगरेको भन्दै गुनासो आउन थालेपछि निगमले यस्तो निर्देशन दिएको हो।
निगमको एलपी ग्यास तथा एभिएसन विभागले सोमबार जारी गरेको पत्रमा केही ग्यास विक्रेताले बिक्रीपछि बिलबिजक जारी नगरेको गुनासो आएको उल्लेख छ। त्यसपछि निगमले सबै ग्यास उद्योगलाई पत्राचार गर्दै विक्रेताबाट अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन आग्रह गरेको हो।
निगमले यसअघि पनि २०८१ साउन ३० र २०८१ माघ १० गते निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संस्थालाई पत्राचार गरेको स्मरण गराएको छ। तर, ग्यास बिक्री गरेपछि पनि बिलबिजक जारी नगरेको गुनासो दोहोरिएपछि निगमले पुनः ताकेता गरेको हो।
निगमले ग्यास बिक्री गर्ने विक्रेताले ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल जारी गरी बिक्री–वितरण गर्नुपर्ने स्पष्ट पारेको छ।











