शेयर बजारबाट एक्जिट हुँदै लगानीकर्ता: कारोबार साढे ५ अर्ब, किन छन् त्रसित?

काठमाडौं । दसैँपछि लगातार दुई दिन घटेको शेयर बजारमा आज झिनो सुधार देखिएको छ। दसैँपछिको पहिलो कारोबार दिनदेखि ओरालो लागेको बजार आज भने केही अंकले बढेको हो। यद्यपि, बजारमा देखिएको सुधार सामान्य रहेकाले लगानीकर्ताको मनोबल पूर्ण रूपमा फर्किन सकेको छैन। बजारमा अस्थिरता कायमै रहँदा आगामी दिनमा शेयर बजारले कस्तो दिशा लिन्छ भन्ने चासो बढेको छ।
पछिल्लो समय सामाजिक सञ्जालमा फैलिएका विभिन्न हल्ला तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा प्रभाव पारेको देखिन्छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम कडा बन्दै जाँदा शेयर बजारमा हुने सम्भावित चलखेल नियन्त्रण गर्न नियामक निकाय सक्रिय भएका छन्। तर, नयाँ व्यवस्थाबारे स्पष्ट जानकारी नहुँदा लगानीकर्तामाझ अन्योल र आशंका बढेको छ। विशेषगरी ठूला लगानीकर्ताले कारोबारसम्बन्धी नयाँ प्रावधानलाई कसरी बुझ्ने र कार्यान्वयन गर्ने भन्ने विषयमा चासो राखिरहेका छन्।
नयाँ निर्देशनअनुसार कुनै व्यक्ति वा संस्थाले एकैपटक वा पटक–पटक गरी एक दिनमा १० लाख रुपैयाँ वा सोभन्दा बढीको धितोपत्र कारोबार गरेमा सम्बन्धित सूचक संस्थाले कारोबार भएको मितिले १५ दिनभित्र वित्तीय जानकारी इकाईले तोकेको प्रणालीमार्फत विवरण उपलब्ध गराउनुपर्ने व्यवस्था छ। कारोबारको रकम, हिसाबकिताब तथा रकमको स्रोतसम्बन्धी अभिलेख राख्नुपर्ने प्रावधानले कारोबारमा पारदर्शिता बढाउने उद्देश्य राखेको छ। यद्यपि, यस व्यवस्थाको कार्यान्वयन र त्यसबारे लगानीकर्तामा रहेको बुझाइले बजारमा मनोवैज्ञानिक प्रभाव पारेको देखिन्छ। नियामकीय व्यवस्थाबारे स्पष्टता नहुँदा कतिपय लगानीकर्ता थप सतर्क बनेका छन्।
बजार लगातार घट्नुका साथै कारोबार रकमसमेत अपेक्षाअनुसार बढ्न सकेको छैन।आज भने केहि सुधार देखीएको छ । नियामकीय व्यवस्थाबारे अन्योल, सामाजिक सञ्जालमा फैलिएका हल्ला र लगानीकर्ताको कमजोर मनोबलले बजारमा दबाब सिर्जना गरेको देखिन्छ। कतिपय लगानीकर्ता नयाँ लगानी गर्न हिचकिचाइरहेका छन् भने केहीले आफ्नो लगानी घटाउने रणनीति अपनाएको देखिन्छ। नेपाल सरकार, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डको सक्रियताले बजारमा सुधार आउने अपेक्षा गरिए पनि त्यसको प्रभाव तत्काल देखिन सकेको छैन। अब बजारले गति लिन लगानीकर्ताको विश्वास बढाउनुका साथै नियामकीय व्यवस्थाबारे स्पष्ट जानकारी र नीतिगत स्थिरता आवश्यक देखिन्छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ०.९४ अंकले बढेर २ हजार ६३० बिन्दुमा कायम भएको छ। यस दिन ३६० कम्पनीका १ करोड ५३ लाख कित्ता शेयर किनबेच हुँदा कुल ५ अर्ब ७९ करोड रुपैयाँबराबरको कारोबार भएको छ।
बजार परिसूचकमा झिनो सुधार देखिए पनि अधिकांश उपसूचकमा दबाब कायम रहेको छ। मंगलबार ९ वटा उपसूचक घटेका छन् भने ४ वटामा सामान्य सुधार देखिएको छ। आज हाइड्रोपावर समूहको शेयर मूल्य सर्वाधिक बढेको छ। यस्तै, म्युचुअल फन्ड र माइक्रोफाइनान्स समूहमा पनि सुधार देखिएको छ।
आज १३५ कम्पनीको शेयर मूल्य बढेको छ भने १३६ कम्पनीको शेयर मूल्य घटेको छ। बजारमा बढ्ने र घट्ने कम्पनीको संख्या लगभग बराबर रहँदा नेप्सेमा सामान्य सुधार मात्रै देखिएको हो।











