लुम्बिनी विकास कोषकी आनीको विरोध गर्नेहरू मध्यरातमा पक्राउ

काठमाडौं । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलनमा रहेका दुई जना मध्यरातमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खान र अभियानमा संलग्न वाविउद्दिन मुसलमान छन् ।
प्रहरीले ६१ वर्षीय खान र ३३ वर्षीय मुसलमानलाई लुम्बिनी पर्साचोकस्थित घरबाट पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरी भैरहवामा राखेको जनाएको छ ।
लुम्बिनी बचाउ महाअभियानले भने शान्तिपूर्ण रूपमा माग राखेर आन्दोलन गरिरहेका बेला मध्यरातमा पक्राउ गरिएको भन्दै दुवै जनालाई निःशर्त रिहा गर्न माग गरेको छ ।
महाअभियानले आनी छोइङ डोल्माको नियुक्ति बदर गरी कोषको उपाध्यक्षमा स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ । आन्दोलनकै क्रममा सोमबार दिउँसो पर्साचोकमा संस्कृति तथा पर्यटनमन्त्री गणेश पौडेलको पुत्लासमेत जलाइएको थियो ।
कोषको उपाध्यक्ष पदमा आवेदन नै नदिएकी आनीलाई नियुक्त गरिएको भन्दै विभिन्न समूह तथा व्यक्तिले विरोध जनाउँदै आएका छन् । आनीको वंशजको नागरिकता प्राप्ति र हङकङबाट प्राप्त गरेको भनिएको करोडौँ रुपैयाँको स्रोत तथा पारदर्शितामाथि पनि प्रश्न उठाइएको छ।











