३३ लाख घुससहित मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घिमिरेसँगै काठमाडौंको कोटेश्वरस्थित गुड नेबर्स इन्टरप्राइजेज प्रालिका सञ्चालक वरुण ढुंगेललाई पनि नियन्त्रणमा लिएको हो।
अख्तियारका अनुसार ठेक्का सम्झौताबमोजिम बाँकी रहेको मोबिलाइजेसन फण्डको किस्ता भुक्तानी प्रक्रियामा सहजीकरण गरिदिने र ठेक्काअन्तर्गतका बाँकी काम अघि बढाउन सहयोग गर्ने भन्दै घिमिरेले सेवाग्राहीसँग घुस मागेको सूचना तथा उजुरी प्राप्त भएको थियो।
उक्त उजुरीका आधारमा अख्तियारको टङ्गालस्थित कार्यालयबाट खटिएको टोलीले दुवै जनालाई ३३ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। उनीहरूलाई भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराबाट १६ गते सोमबार पक्राउ गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार पक्राउ परेका दुवै जनालाई कात्तिक १७ गते विशेष अदालतको आदेशबाट घुस (रिसवत) भ्रष्टाचारसम्बन्धी मुद्दामा म्याद थप गरिएको छ। थप अनुसन्धान प्रक्रिया अघि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।











